लामखुट्टे भगाउन बालिएको घुरबाट सल्किएको आगोले १२ संरचना जलेर खरानी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
432
Shares
काठमाडौँ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति भएको आगलागीमा परी ६ परिवारको उठीबास भएको छ।
स्थानीय रामअवतार यादवको गाईगोठमा लामखुट्टे भगाउन बालिएको घुर (आगो) बाट सल्किएको आगोले छिमेकमा समेत डढेलोको रूप लिँदा कुल १२ वटा संरचना जलेर खरानी भएका हुन्।
आगलागीमा रामअवतार यादवका दुई घर र एक गोठ, जुगाइ यादवका दुई घर र एक गोठ, अनिल यादवका दुई घर र एक गोठ तथा योगिन्द्र यादव, राजकुमार यादव र धीरेन्द्र यादवको एक/एक वटा घर खरानी भएको स्थानीय रामनाथ यादवले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर र नगदसहित करिब ४५ लाख रुपैयाँ भन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।
आगलागीका कारण घरबारविहीन भएका परिवारहरू अहिले खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन्।