सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कराज राईले गरे स्वागत
भने - जनताको आदेशलाई मानेका हौँ
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
405
Shares
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गरेका नेता सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बागबजारस्थित हार्दिक होटलमा आयोजित एक विशेष कार्यक्रमका बीच उनले नयाँ पार्टीमा आबद्धता जनाएका हुन्। किराँतीलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङले खादा र माला लगाएर स्वागत गरे।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै किराँतीले यो एकता व्यक्तिगत स्वार्थका लागि नभई जनताको चाहना र दबाबअनुसार भएको दाबी गरे। उनले यसलाई एक 'ऐतिहासिक घडी' को संज्ञा दिँदै आफूहरूले जनताको आदेश शिरोपर गरेको बताए। किराँतीले आँखामा सपना, मनमा वाचा, काँधमा जिम्मेवारी र छातीमा इमानदारिता बोकेर आफूहरू यो अभियानमा होमिएको उल्लेख गरे।
उनले अबको यात्रा ढुङ्गा र माटोको सम्बन्ध जस्तै तीन करोड नेपाली जनताको भावनासँग जोडिनुपर्नेमा जोड दिए। "यो केवल गाह्रो लगाउने वा घर बनाउने कथा मात्र होइन, अब हामी नेपालको माटो र बाटोमा हिँड्नुपर्छ," उनले भने। किराँतीले विगतका इतिहासका त्रुटिहरूबाट शिक्षा लिँदै र घटेका घटनाहरूको गम्भीर समीक्षा गरेर नै आफूहरू एकताको यो बिन्दुसम्म आइपुगेको बताए। अबका दिनमा जनताले आफूहरूलाई पूर्ण साथ दिनेमा उनले बलियो विश्वास व्यक्त गरे।