‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
721
Shares
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले 'एमभी होन्डियस' नामक क्रुज जहाजबाट सुरु भएको हान्टाभाइरसको प्रकोप अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ। अर्जेन्टिनाको उसुआइआबाट यात्रा सुरु गरेको यस जहाजका यात्रुहरूमध्ये हालसम्म तीन जनाको मृत्यु भइसकेको छ भने पाँच जनामा सङ्क्रमण पुष्टि र तीन जना शंकास्पद बिरामी फेला परेका छन्।
सङ्क्रमित र शंकास्पद बिरामीहरूलाई हाल बेलायत, जर्मनी, नेदरल्यान्ड्स, स्विट्जरल्याण्ड र दक्षिण अफ्रिकामा आइसोलेसनमा राखेर उपचार भइरहेको छ। अधिकारीहरूका अनुसार एक यात्रु अर्जेन्टिनामा जहाज चढ्नुअघि नै सङ्क्रमित भएको र पछि जहाजभित्र अन्यमा सङ्क्रमण सरेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेससले हान्टाभाइरसको लक्षण देखिन ६ हप्तासम्म लाग्न सक्ने भएकाले आगामी दिनमा थप नयाँ केसहरू थपिन सक्ने सम्भावना रहेको बताउनुभएको छ।
डब्ल्यूएचओका आपतकालीन प्रतिक्रिया निर्देशक अब्दी रहमान महमुदले यदि सबै देशले समयमै परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसन जस्ता उपायहरू कडाइका साथ लागू गरेमा यसलाई ठूलो स्तरमा फैलिन नदिई नियन्त्रण गर्न सकिने विश्वास व्यक्त गरेका छन्। यसैबीच, अर्जेन्टिनाले सङ्क्रमणको स्रोत पत्ता लगाउन उसुआइआ क्षेत्रमा मुसाहरूको परीक्षण गर्ने तयारी थालेको छ, किनकि यो भाइरस सामान्यतया मुसाको सम्पर्कबाट मानिसमा सर्ने गर्दछ।
जहाज सञ्चालक कम्पनी ओशनवाइड एक्सपेडिसनका अनुसार हाल जहाजमा कुनै पनि नयाँ लक्षण देखिएका यात्रु छैनन् र जहाज आइतबार स्पेनको टेनेरिफ पुग्ने तालिका छ। डब्ल्यूएचओले यो सङ्क्रमणलाई थप देशहरूमा फैलिन नदिन अन्तर्राष्ट्रिय सहयोग र कडा स्वास्थ्य मापदण्ड पालना गर्न अपरिहार्य रहेकोमा जोड दिएको छ।