एटलान्टिक क्रुजमा हान्टाभाइरसको प्रकोप: पाँच जनामा सङ्क्रमण पुष्टि, तीनको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
744
Shares
काठमाडौं । अर्जेन्टिनाबाट १ अप्रिलमा यात्रा शुरू गरेको ‘एमभी होन्डियस’ नामक एट्लान्टिक क्रुज जहाजमा देखा परेको प्रकोपमा पाँच जनामा हान्टाभाइरस पुष्टि भएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार थप तीन जनामा यो भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएको छ। अहिलेसम्म फेला परेका आठ सङ्क्रमितमध्ये तीन जनाको मृत्यु भइसकेको डब्ल्युएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले जानकारी दिनुभएको छ।
जेनेभामा आयोजित पत्रकार सम्मेलनमा टेड्रोसले यो सङ्क्रमणमा संलग्न हान्टाभाइरसको प्रजाति 'एन्डिज भाइरस' भएको बताए । जुन मुख्यतया ल्याटिन अमेरिकामा पाइन्छ। एन्डिज भाइरसको सङ्क्रमण फैलिन सक्ने ६ हप्ताको अवधिलाई मध्यनजर गर्दा सङ्क्रमितको सङ्ख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
यो भाइरस मानिसबाट मानिसमा सर्ने हान्टाभाइरसको एक मात्र प्रजाति हो। सामान्यतया हान्टाभाइरस सङ्क्रमित मुसाको पिसाब, मलमूत्र र थुकको माध्यमबाट मानिसमा सर्ने गर्दछ।
डच झण्डा भएको यो जहाज अर्जेन्टिनाको उसुइयाबाट केप भर्डे हुँदै हाल स्पेनिस टापु टेनेरिफतर्फ यात्रा गरिरहेको छ। डब्ल्युएचओले सार्वजनिक स्वास्थ्य सावधानीहरू कडाइका साथ पालना गरिएमा यो प्रकोप जहाजभित्रै सीमित हुने अपेक्षा गरेको छ।
टेड्रोसले जहाजका क्याप्टेनसँग नियमित सम्पर्कमा रहेको र सङ्क्रमितहरूको सुरक्षाका लागि चालिएका कदमहरूको प्रशंसा गरे। यसैबीच अर्जेन्टिनाले पाँच देशका प्रयोगशालामा २५ सय वटा परीक्षण किट पठाउने तयारी गरेको छ।