मार्शको विष्फोटक शतकमा छ खेलको हारपछि लखनउको पुनरागमन, बैंगलुरूलाई नौ रनले हरायो
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
401
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार छ खेलमा पराजय भोगेको लखनउ सुपर जायन्ट्सले अन्ततः जित हात पारेको छ। बिहीबार इकाना स्टेडियममा खेलिएको रोमान्चक खेलमा लखनउले रोयल च्यालेन्जर्स बैंगलुरूलाई ९ रनले हराएको हो। वर्षाका कारण प्रभावित भएको उक्त खेल १९–१९ ओभरमा छोट्याइएको थियो।
टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित १९ ओभरमा ३ विकेट गुमाउँदै २०९ रनको योगफल खडा गर्यो। वर्षाका कारण डकवर्थ लुइस पद्धति अनुसार बैंगलुरूलाई जितका लागि २१३ रनको संशोधित लक्ष्य दिइएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बैंगलुरूले १९ ओभरमा ६ विकेट गुमाएर २०३ रन मात्र बनाउन सक्यो।
लखनउको जितका प्रमुख आधार मिचेल मार्श बने जसले १११ रनको शतकीय पारी खेल्दै 'प्लेयर अफ द म्याच' चुनिए। उनले आफ्नो विष्फोटक पारीमा ९ चौका र ९ छक्का प्रहार गरेका थिए। यस्तै, निकोलस पुरनले ३८ रन र कप्तान ऋषभ पन्तले अविजित ३२ रनको योगदान दिए। बैंगलुरूका तर्फबाट जोश हेजलवुड, क्रुणाल पाण्ड्या र रसिख सलामले समान एक–एक विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा बैंगलुरूको सुरुवात भने कमजोर रह्यो। ५.४ ओभरको पावरप्लेमा बैंगलुरूले ज्याकब बेथेल र विराट कोहलीको विकेट गुमाउँदै मात्र ४० रन जोडेको थियो। त्यसपछि कप्तान रजत पाटीदार र देवदत्त पडिक्कलले ५३ बलमा ९५ रनको साझेदारी गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे।
अन्तिम ओभरहरूमा टिम डेभिड (१७ बलमा ४० रन), क्रुणाल पाण्ड्या (१६ बलमा अविजित २८ रन) र रोमारियो शेफर्ड (१५ बलमा अविजित २३ रन) ले आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जित दिलाउन सकेनन्।
लखनउका लागि प्रिन्स यादवले घातक बलिङ गर्दै ३ विकेट लिए। उनले विराट कोहली (शून्य), जितेस शर्मा (१ रन) र देवदत्त पडिक्कल (३४ रन) लाई पभेलियन पठाएका थिए। शहबाज अहमदले २ विकेट र मोहम्मद शामीले १ विकेट लिए।