arrow

आईपीएलको शीर्ष स्थानको पञ्जाबलाई हरायो गुजरातले

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
sai sudarsan.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आइतबारको दोस्रो खेलमा गुजरात टाइटन्सले तालिकाको शीर्ष स्थानमा रहेको पञ्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ। गुजरातको यो लगातार तेस्रो जित हो भने पञ्जाबले लगातार दोस्रो हार बेहोरेको छ। हारका बाबजुद पञ्जाब अंक तालिकाको शीर्ष स्थानमै यथावत छ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर गुजरातले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६३ रन बनायो। १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। गुजरातका लागि वासिङ्टन सुन्दरले मार्कस स्टोइनिसको बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए।

लक्ष्य पछ्याउने क्रममा गुजरातले १६ रनको स्कोरमै कप्तान शुभमन गिल (५ रन) लाई गुमाएको थियो। उनलाई अर्शदीप सिंहले क्याच आउट गराए। त्यसपछि साई सुदर्शनले टोलीको इनिङ्स सम्हाले। उनले जोस बटलरसँग मिलेर टोलीको स्कोर ६९ रनसम्म पुर्‍याए भने निशान्त सिन्धुसँगको साझेदारीमा टोलीलाई १०० रन पार गराए। सुदर्शन आउट हुँदा टोली १२४ रनको बलियो अवस्थामा पुगिसकेको थियो। बाँकी काम वासिङ्टन सुन्दर र राहुल तेवतियाले पूरा गरे।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबको सुरुवात निकै खराब थियो। टोलीले ४७ रनमै ५ विकेट गुमाइसकेको थियो। यस्तो अवस्थामा सूर्यांश शेडगे र मार्कस स्टोइनिसले ४४ बलमा ७९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई संकटबाट बचाए। शेडगेले २९ बलमा ५७ रनको अर्धशतकीय पारी खेले भने स्टोइनिस ४० रन बनाएर आउट भए। यद्यपि, अन्य ब्याटर चल्न नसक्दा पञ्जाबले ठुलो स्कोर खडा गर्न सकेन।

गुजरातको जितमा बलर जेसन होल्डरको भूमिका महत्वपूर्ण रह्यो। उनले घातक बलिङ गर्दै ४ विकेट झट्काए। यस्तै मोहम्मद सिराज र कगिसो रबाडाले समान २–२ विकेट लिएर पञ्जाबका ब्याटरहरूलाई सस्तैमा समेट्न सहयोग गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ