चेन्नईले ८ विकेटले हरायो मुम्बईलाई, प्लेअफको दौड रोमाञ्चक बन्दै
आज कोलकाता विरुद्ध सनराइजर्स र गुजरातविरुद्ध पञ्जाब भिड्दै
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
396
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ। यस सिजनमा मुम्बईमाथि चेन्नईको यो दोस्रो जित हो। यो जितसँगै चेन्नईले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ भने मुम्बई इन्डियन्सका लागि अघिल्लो चरणको यात्रा निकै कठिन बनेको छ।
चेपौक स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो। १६० रनको लक्ष्य पछ्याएको चेन्नईले १८.१ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो। कार्तिक शर्माले ट्रेन्ट बोल्टको पहिलो बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए।
चेन्नईका लागि कप्तान ऋतुराज गायकवाडले ४८ बलमा अविजित ६७ रन को कप्तानी पारी खेले। उनलाई कार्तिक शर्माले ४० बलमा ५४ रन बनाएर बलियो साथ दिए। मुम्बईका लागि नमन धिरले ५७ रनको अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। बलिङतर्फ चेन्नईका अंशुल कम्बोजले ३ विकेट तथा नूर अहमदले २ विकेट लिए।
यो जितसँगै चेन्नई ९ खेलबाट ८ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मुम्बई भने ९ खेलमा ७ हारका साथ पुछारतिरै रहेको छ। मुम्बईले अब बाँकी रहेका सबै खेल जितेमा मात्र १४ अङ्क पुग्नेछ, जुन प्लेअफका लागि पर्याप्त नहुन सक्छ।
आज आइतबार आईपीएलमा दुईवटा खेलहरू हुँदैछन् । आज कोलकाता नाइट राइडर्स विरुद्ध सनराइजर्स हैदराबाद उत्रदैछ । हैदराबादमा दिउँसो ३:३० बजे हुने यो खेलमा कोलकाता जितको ह्याट्रिक गर्ने दाउमा छ। यता ९ खेलमा १२ अङ्क जोडेर तेस्रो स्थानमा रहेको हैदराबाद आजको जितसँगै तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ।
आजै गुजरात टाइटन्स विरुद्ध पञ्जाब किंग्स भिड्नेछ । अहमदाबादमा साँझ ७:३० बजे हुने दोस्रो खेलमा पञ्जाब र गुजरात भिड्नेछन्। पञ्जाब ८ खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने गुजरात १० अङ्कसहित पाँचौँ स्थानमा छ।
चेन्नई र मुम्बईको खेलपछि पनि ओरेन्ज क्यापको दौडमा कुनै परिवर्तन भएको छैन। केएल राहुल ४३३ रनका साथ शीर्ष स्थानमा यथावत छन्। यद्यपि, आजको खेलमा अभिषेक शर्मा र हेनरिक क्लासनलाई राहुललाई पछि पार्ने अवसर रहेको छ।