काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पन्जाब किंग्सले सिजनको पहिलो हार बेहोरेको छ। मंगलबार भएको खेलमा राजस्थान रोयल्सले पन्जाबलाई ६ विकेटले पराजित गर्दै रोमाञ्चक जित दर्ता गरेको हो। राजस्थानले २२३ रनको विशाल लक्ष्य १९.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
महाराजा यादवन्द्र सिंह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२२ रनको योगफल खडा गरेको थियो। पन्जाबका लागि मार्कस स्टोइनिसले अविजित ६२ रनको शानदार पारी खेले भने ओपनर प्रभसिमरन सिंहले ५९ रन जोडे। कप्तान श्रेयस अय्यरले ३० रनको योगदान दिएका थिए।
राजस्थानका तर्फबाट यशराज पुञ्जाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए। जोफ्रा आर्चर र नान्द्रे बर्गरको नाममा समान १–१ विकेट रह्यो।
२२३ रनको लक्ष्य पछ्याएको राजस्थानले पावरप्लेमै विष्फोटक सुरुवात गर्दै ८४ रन जोडेको थियो। युवा खेलाडी वैभव सूर्यवंशीले मात्र १६ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ४३ रन बनाए। अर्का ओपनर यशस्वी जायसवालले २७ बलमा ५१ रनको अर्धशतकीय पारी खेले।
मध्यक्रममा डोनोवन फरेराले २६ बलमा ६ चौका र ३ छक्काको मद्दतले अविजित ५२ रन बनाउँदै टिमलाई जित दिलाए। उनले छक्का प्रहार गर्दै खेल टुङ्ग्याएका थिए। शुभम दुबेले ३१ रन बनाए। फरेरा र दुबेबीच पाँचौँ विकेटका लागि ३२ बलमा ७७ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो। राजस्थानका कप्तान रियान परागलाई युजवेन्द्र चहलले आउट गर्दा टिमलाई जितका लागि ७२ रन आवश्यक थियो, जुन फरेराले आक्रामक ब्याटिङ गर्दै सहजै पूरा गरे।
हारका बाबजुद पन्जाब अङ्क तालिकाको शीर्ष स्थानमा यथावत छ। अर्कोतर्फ यो जितसँगै राजस्थान रोयल्स १० अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ।