कांग्रेस दलको नेता चयन ढिला भए पनि परिपक्व भयो : सभापति थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
453
Shares
काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।
सोमबार नै बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने निर्णय गरेको थियो ।
सोही प्रस्ताव कांग्रेस संसदीय दलको बैठकबाट पारित भएको सभापति गगन थापाले जानकारी दिए ।
सभापति थापाले संसदीय नेता चयनको प्रक्रियामा समय अलि बढी लागेकाले टिकाटिप्पणी हुनु स्वभाविक रहेको बताए ।
निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेताको चयनको प्रक्रिया टुंगो लगाउन सकिने भएता पनि बहुसंख्यक सांसदहरूको चाहना सर्वसम्मत रुपमा चयन हुनुपर्ने चाहना भएकाले ढिला भएको जानकारी दिए ।
कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो तर सर्वसम्मत गराउन गाह्रो रहेको बताउँदै सभापति थापाले ढिलो भए पनि भित्रभित्रै परिपक्क बनाएको धारणा राखे ।
उनले भने, ‘चयनको प्रक्रियामा समय अलि बढि लागेकाले स्वभाविक रुपमा टिकाटिप्पणी धेरै भए । निर्वाचनको प्रक्रियाबाट भोलिपल्ट नै नेता चयनको प्रक्रिया टुंगो लगाउन सकिन्थ्यो। तर यो पटक बहुसंख्यक सांसदहरूको चाहना सर्वसम्मत रुपमा होस् भन्ने थियो। कांग्रेसमा प्रतिस्पर्धा गर्न सजिलो छ तर सर्वसम्मत गराउने कुरा गार्हो छ। ढिला भए पनि परिपक्व बनाइरहेका थियौँ।’
यता, नेता आङ्देम्बेले विगतमा पार्टी र संसदबीचको एउटा समन्वय कम भएको भन्दै अब पार्टी र संसदबीचको समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जाने प्रतिबद्धता जनाए ।
‘हिजो पार्टी र संसदबीचको एउटा समन्वयात्मक बिर्सिएको जस्तो अवस्था थियो । तर आज त्यो खोजेर अगाडि बढ्नैपर्ने आवश्यक छ । पार्टी र संसदबीचको एउटा समन्वयात्मक छलफल र बहसबाट मुलुकको ठूला चुनौतीको सामना गर्ने बाटोमा जान्छौँ,’ उनले भने ।
उनले संसदीय दलको अन्य पदाधिकारीहरूको टुंगो २४ घण्टा भित्र मै टुंगो लाग्ने जानकारी दिए ।