सरकारले संसद् र नागरिक दुवैलाई हेपेको सभापति थापाको आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १६ बुधबार
270
Shares
रौतहट। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ जाँदै गर्दा रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन् ।
थापाले आफ्नै बहुमत रहेको संसद्प्रति समेत सरकारको विश्वास नरहेको दाबी गरे ।
‘संसद्को मिति तोकेर आह्वान भइसकेपछि कुनै सूचनाबिना बैठक स्थगित गरिनु गैरजिम्मेवारीपन हो,’ उनले भने ।
संसद् छल्दै अध्यादेश ल्याउने तयारीप्रति संकेत गर्दै उनले नागरिकलाई जानकारी दिन नचाहने प्रवृत्तिको आलोचना गरे।
सांसदहरूको आग्रहमा बैठक स्थगित गरिएको भन्ने दाबीलाई उनले ‘भ्रामक प्रचार’ भन्दै अस्वीकार गरेका छन् ।
संवैधानिक परिषद्को संरचनाबारे पनि उनले असन्तुष्टि जनाउँदै विगतकै शैलीमा आफूअनुकूल निर्णय गर्न खोजिएको आरोप लगाए ।
उनले प्रतिपक्षसँग कुनै छलफल नगरी एकलौटी ढंगले अघि बढ्ने प्रवृत्ति गलत रहेको बताए ।
सरकारका सुधारका काममा सहयोग गर्न तयार रहेको जनाउँदै उनले सदन र अन्य दललाई बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कांग्रेस चुप नबस्ने चेतावनी दिए ।
गत निर्वाचनमा पराजित भएको क्षेत्र सर्लाही-४ मा थापा मतदातालाई धन्यवाद दिन र स्थानीय अवस्था बुझ्न पुगेका हुन्।
उनका अनुसार बुधबार दिनभर विभिन्न स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम छ ।