रूस र उत्तर कोरियाबीच दीर्घकालीन सैन्य सहकार्यको सहमति
सन् २०३१ सम्मको गुरुयोजना तयार
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १४ सोमबार
361
Shares
तस्बिर फाइल
काठमाडौँ । रुस र उत्तर कोरियाबीच सैन्य सम्बन्धलाई थप मजबुत बनाउँदै 'दीर्घकालीन' सहकार्य गर्ने सहमति भएको छ। रुसी रक्षा मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार दुई देशबीच आगामी सन् २०२७ देखि २०३१ सम्मको अवधिलाई समेट्ने गरी सैन्य सहयोगको विशेष योजनामा हस्ताक्षर गर्ने तयारी भएको छ।
रुसी रक्षामन्त्री आन्द्रे बेलौसोभले उत्तर कोरियाको रक्षा मन्त्रालयसँग यो ऐतिहासिक सहमति भएको पुष्टि गर्दै दुई देशको सैन्य सम्बन्धलाई निरन्तर र रणनीतिक रूपमा अघि बढाइने बताएका छन्।
प्योङयाङले युक्रेनसँगको युद्धमा रुसलाई समर्थन गर्न हजारौँ सैनिकका साथै ठुलो परिमाणमा क्षेप्यास्त्र र युद्ध सामग्री पठाएको छ। यसको बदलामा उत्तर कोरियाले रुसबाट आर्थिक सहयोग, अत्याधुनिक सैन्य प्रविधि, खाद्यान्न र ऊर्जा प्राप्त गरिरहेको विश्लेषकहरूको बुझाइ छ।
विशेषगरी रुसको कुस्र्क क्षेत्रमा युक्रेनी सेनाको प्रत्याक्रमण रोक्न उत्तर कोरियाली सैनिकहरूले रुसी फौजसँग 'काँधमा काँध' मिलाएर लडेको भन्दै रुसी अधिकारीहरूले प्रशंसा गरेका छन्। रुसी संसदका सभामुख भ्याचेस्लाभ भोलोदिनले कुस्र्क युद्धमा उत्तर कोरियाली सेनाको भूमिकाका लागि नेता किम जोङ उनलाई भेटेरै धन्यवाद दिएका छन्।
यसै सन्दर्भमा रुसी रक्षामन्त्री बेलौसोभले कुस्र्क अपरेशनमा सहभागी उत्तर कोरियाली सैनिकहरूलाई सैन्य पुरस्कारबाट समेत सम्मानित गरेका छन्। युक्रेनविरुद्धको युद्धमा मारिएका सैनिकहरूको सम्मानमा प्योङयाङमा निर्माण गरिएको स्मारक कम्प्लेक्सको उद्घाटन समारोहमा रुसी र उत्तर कोरियाली उच्च अधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो।
सन् २०२४ मा भएको सैन्य सन्धिले दुवै देशलाई एक–अर्कामाथि आक्रमण भएमा तत्काल सैन्य सहायता प्रदान गर्न बाध्य पारेको छ, जसलाई अहिलेको नयाँ सहमतिले थप बल पुर्याएको छ।
दक्षिण कोरियाली सूचनाअनुसार युक्रेन युद्धमा हालसम्म करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएका छन्। युद्धको मैदानमा पक्राउ पर्नुको साटो आत्महत्या गर्न कडा निर्देशन दिइएका कारण अहिलेसम्म केवल दुई जना उत्तर कोरियाली सैनिक मात्र युक्रेनी सेनाको हिरासतमा जीवित रहेको बताइएको छ। रुस र उत्तर कोरियाको यो बढ्दो सैन्य सामिप्यताले विश्व राजनीति र क्षेत्रीय सुरक्षा सन्तुलनमा नयाँ चुनौती थपेको छ।