चीन भ्रमणअघि राष्ट्रपति लीलाई उत्तर कोरियाको 'उपहार'
भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीपछि उत्तर कोरिया आक्रामक: समुद्रमा क्षेप्यास्त्रको वर्षा
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
3.4k
Shares
काठमाडौँ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्युयोर्क पुर्याएको केही घण्टाभित्रै उत्तर कोरियाले सन् २०२६ को पहिलो सैन्य शक्ति प्रदर्शन गरेको छ। दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङ चीन भ्रमणमा निस्कनुभन्दा केही घण्टा अघि मात्र आइतबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी तटतर्फ शृङ्खलाबद्ध ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।
दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफका अनुसार राजधानी प्योङयाङ क्षेत्रबाट बिहान करिब ७:५० बजे प्रहार गरिएका क्षेप्यास्त्रहरूले झन्डै ९०० देखि ९५० किलोमिटरको दूरी तय गरी समुद्रमा खसेका थिए। जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले कम्तीमा दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पुष्टि गर्दै यसलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा बताएका छन्।
विज्ञहरूका अनुसार भेनेजुएलामा अमेरिकी 'विशेष अपरेशन' मार्फत निर्वाचित राष्ट्रपतिलाई कब्जामा लिएको घटनाले उत्तर कोरियाली नेतृत्वमा गम्भीर सुरक्षा चिन्ता पैदा गरेको छ। उत्तर कोरियाले यसअघि नै अमेरिकाले आफ्नो देशमा पनि 'सत्ता परिवर्तन'को प्रयास गरिरहेको आरोप लगाउँदै आएको छ।
यसै सन्दर्भमा, उत्तर कोरियाली नेता किम जोङ-उनले शनिबार मात्रै एक हतियार कारखानाको निरीक्षण गर्दै रणनीतिक निर्देशित हतियारहरूको उत्पादन साढे दुई गुणाले बढाउन निर्देशन दिएका थिए। आइतबारको यो परीक्षणलाई अमेरिकाको पछिल्लो कदमप्रति किमको प्रत्यक्ष सैन्य जवाफ र 'आणविक प्रतिरोध क्षमता'को प्रदर्शनका रूपमा हेरिएको छ।
दक्षिण कोरियाले यस प्रक्षेपणलगत्तै आपतकालीन राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ भने राष्ट्रपति लीले बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने वार्तामा उत्तर कोरियाको बढ्दो सैन्य गतिविधिका विषयमा गम्भीर छलफल गर्ने तयारी गरेका छन्।