उत्तर कोरियाको कडा चेतावनी, दक्षिणद्वारा आरोप अस्वीकार
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २७ आइतबार
2k
Shares
काठमाडौँ । उत्तर कोरियाले दक्षिण कोरियामाथि सीमा पार गरी ड्रोन उडाएको गम्भीर आरोप लगाउँदै त्यसको ‘कडा जवाफ’ दिने चेतावनी दिएको छ। शनिबार उत्तर कोरियाली सेना (केपीए) ले एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाको ड्रोन घुसपैठलाई ‘अक्षम्य उन्माद’ को संज्ञा दिएको हो।
उत्तर कोरियाको दाबीअनुसार आइतबार सीमावर्ती सहरमाथि उडिरहेको एक दक्षिण कोरियाली ड्रोनलाई इलेक्ट्रोनिक युद्ध प्रविधि प्रयोग गरी खसालिएको छ। उक्त ड्रोनमा दुईवटा क्यामेरा जडान गरिएको र त्यसले उत्तर कोरियाका संवेदनशील क्षेत्रको तस्बिर खिचिरहेको आरोप लगाइएको छ। "हाम्रो सार्वभौमसत्तामाथिको यो आक्रमणका लागि दक्षिण कोरियाली सैन्य युद्धोन्मादीहरूले महँगो मूल्य तिर्नुपर्नेछ," विज्ञप्तिमा भनिएको छ।
दक्षिण कोरियाको खण्डन र अनुसन्धान दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियाको यो दाबीलाई तत्कालै अस्वीकार गरेको छ। मन्त्रालयले उक्त समय र स्थानमा कुनै पनि सैनिक ड्रोन सञ्चालन नगरिएको र फेला परेको भनिएको ड्रोनको मोडेल दक्षिण कोरियाली सेनासँग मेल नखाने स्पष्ट पारेको छ। रक्षा अधिकारी किम होङ–चियोलले ती ड्रोनहरू सर्वसाधारणले उडाएका हुन् कि होइनन् भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
शान्ति प्रयासमा धक्का यो घटनाले दक्षिण कोरियाका वर्तमान उदारवादी राष्ट्रपति ली जे म्युङको उत्तर कोरियासँग सम्बन्ध सुधार्ने प्रयासलाई थप जटिल बनाएको छ। जुन महिनामा पदभार ग्रहण गरेयता लीले वार्ताका लागि निरन्तर पहल गरे पनि उत्तर कोरियाले त्यसलाई अस्वीकार गर्दै आएको छ।
ड्रोन विवाद दुई कोरियाबीच लामो समयदेखिको तनावको विषय हो। सन् २०२२ डिसेम्बरमा उत्तर कोरियाली ड्रोन दक्षिण कोरियाको हवाई क्षेत्रमा छिरेपछि सियोलले लडाकु जेट र निगरानी ड्रोन परिचालन गरेको थियो। पछिल्लो विवादले कोरियाली प्रायद्वीपमा पुनः सैन्य मुठभेडको जोखिम बढाएको विश्लेषकहरूले बताएका छन्।