arrow

भूकम्पीय जोखिममा पश्चिम नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १२ शनिबार
bhukampa-ghar.jpg

सुर्खेत। नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको भूकम्पविद्हरूले समय समयमा बताउँदै आएका छन्। पश्चिम नेपालको भौगोलिक बनावट, लामो समयदेखि ठूलो भूकम्प नगएको अवस्था र यहाँको भौतिक संरचनाको कारणपनि पश्चिम नेपाललाई भूकम्पको उच्च जोखिममा रहेको मान्न सकिने विज्ञहरूले बताउँदै आएका छन्। पटक–पटक आउने भूइँचालोका कारण पश्चिमम नेपालमा मानवीय र भौतिक क्षति व्यहोर्नु परिरहेको छ।

भूकम्पको क्षति न्यूनीकरणका लागि विभिन्न समयमा विज्ञहरूले सुझावहरू दिँँदै पनि आएका छन् तर ती सुझावहरू पालनाका लागि सरकारी र गैरसरकारी प्रयासहरू प्रयाप्त छैनन्। पछिल्ला वर्षहरूमा पश्चिम नेपालमा साना तथा मध्यमस्तरका भूकम्पहरू बारम्बार आइरहेका छन्। यी कम्पनहरूलाई विज्ञहरूले चेतावनी संकेतका रूपमा हेर्ने गरेका छन्। यद्यपि, यस्ता घटनाले केही समयका लागि त्रास त सिर्जना गर्छन्, तर दीर्घकालीन तयारीमा भने खासै प्रभाव देखिँदैन।

तीन बर्षमा ४२५० पटक बढी भूकम्प

पछिल्लो तीन बर्षका पश्चिम नेपाललाई केन्द्रबिन्दु बनाएर चार हजार २५० पटक भूकम्प गएको मापन केन्द्र सुर्खेतको तथ्याङ्क छ। यो अवधिमा गएका भूकम्पमध्ये २०७८ कात्तिक २२ गते डोटी, २०८० साल असोज १६ गते बझाङ र २०८० साल कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएको गएको भूकम्प ठूला भूकम्प मध्येमा पर्छन्।

डोटीमा ६.६ बझाङमा ६.३ र जाजरकोटमा ६.४ रेक्टरस्केलको भूकम्प गएर मानवीय र भौतिक क्षति पुर्याएको थियो। यो अवधिमा पश्चिम नेपालमा सबैभन्दा धेरै ४ हजार १५० पटक भन्दा बढी साना भूकम्प गएको छ। त्यसैले खासै क्षति नपुर्याए पनि ठूलो खतराको संकेत गरेको भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमूख चिन्तन तिमिल्सिना बताउँछन्।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार २०७९ कात्तिक २२ गते गएको ६.६ रेक्टर स्केलको डोटी भूकम्पले पनि छ जनाको ज्यान लिएको थियो। २०८० असोज १६ गते बझाङको चैनपुर केन्द्रबिन्दु भएर गएको ६.३ रेक्टरस्केलको भूकम्पका कारण ठूलो भौतिक क्षति भएको थियो। त्यतिबेला एक जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका थिए। २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पले समेत ठूलो जनधनको क्षति गरेको थियो। एक सय ५४ जनाको ज्यान लिने गरी आएको भूकम्पले ठूलो भौतिक क्षति समेत भयो।

पश्चिम नेपालमा सबैभन्दा बढी भूकम्प जाने जिल्लामा बझाङ रहेको छ। यो अवधिमा कर्णालीका जुम्ला, हुम्ला, मुगु र जाजरकोट जिल्लामा भूकम्पको केन्द्रबिन्दु रहेको छ भने सुदूरपश्चिमका छ जिल्लामा प्रभाव परेको छ। यहाँ २०७९ साल यता एक हजार २३८ पटक भूकम्प मापन गरिएको छ। यो अवधिमा जाजरकोटमा पााँच सय १२, बाजुरा ५०४, डोटी ४००, अछाममा ३११, दार्चुलामा २२४, हुम्लामा १६१, मुगुमा १५१, जुम्लामा १२३ र बैतडीमा ८० पटक भूकम्प गएको छ।

भूकम्प मापन केन्द्रका प्रमूख तिमिल्सैनाका अनुसार ४ रेक्टरस्केलभन्दा कम क्षमताका भूकम्प अत्यधिक रहेको छ। तीन बर्षमा कर्णाली र सदूरपश्चिममा चार रेक्टरस्केलभन्दा कमको भूकम्प चार हजार १५० पटक भन्दा बढी गएको छ। पछिल्लो तीन बर्षमा कर्णाली र सुदूरपश्चिम क्षेत्रमा ६ देखि ७ रेक्टरस्केलको भूकम्प तीन पटक, ५ देखि ६ रेक्टरस्केलको १६ पटक र ४ देखि ५ रेक्टरस्केलको ८१ पटक भूकम्प गएको छ। ठूला भूकम्प गएको जिल्लाहरूमा पनि बझाङ र जाजरकोटमा केन्द्रबिन्दु बनाएको देखिन्छ।

पश्चिम नेपालको भूसतहमुनि ५ सय २० वर्षयता भूकम्पीय शक्ति सञ्चय भइरहेको हुँदा पश्चिम नेपालमा केन्द्रबिन्दु भएर ८ वा त्योभन्दा बढी म्याग्निच्यूडको भूकम्प जानसक्ने खतरा रहेको विज्ञहरूले बताउँदै आएका छन्। ५२० बर्ष यता नेपालको पश्चिम क्षेत्रमा ठुलो भूकम्प नगएको र हिमालय क्षेत्रको अध्ययनले ५०० देखि ७०० बर्षको अवधिमा पहिले गएकै स्थानमा भूकम्प जाने सम्भावना अत्यधिक रहेकाले पनि पश्चिमक्षेत्र जोखिममा रहेको तिमिल्सिनाले बताए। ‘आठ रेक्टरस्केलभन्दा माथिको भूकम्पलाई ठूलो भूकम्प मानिन्छ’ उनले भने, ‘भूकम्पको मान भन्दा पनि त्यसले पुर्याउने क्षतीले भूकम्पको ठुलो सानो भन्न मिल्छ।’

भूकम्पविद् तिमिल्सिनाका अनुसार दक्षिणबाट सर्दै आएको ‘इन्डियन प्लेट’ उत्तरको ‘युरेसियन प्लेट’ को मुनि घुस्रिन खोज्ने क्षेत्रमै नेपाल पर्छ। दुई प्लेटबीचको घर्षणका कारण नेपाल सँधै भूकम्प जान सक्ने अधिक जोखिमको क्षेत्रमा पर्न जान्छ। यस्तो भूकम्प नगएको क्षेत्रको भूगर्भमा शक्ति सञ्चित भएर बस्छ र कुनै पनि बेला महाभूकम्प जाने खतरा हुन्छ।

‘एक रेक्टर स्केलको फरक पर्दा त्यसको शक्तिमा ३२ गुणा फरक पर्छ। त्यसको अर्थ ५ रेक्टर स्केलको भूकम्प जानका लागि जति शक्ति चाहिन्छ। ६ रेक्टरस्केलको भूकम्पका लागि ३२ गुणा बढी शक्ति चाहिन्छ’, उनले भने, ‘त्यहीँ हिसाबले ५ सँग तुलना गर्दा ७ रेक्टरस्केलका लागि हजार गुणा बढी शक्ति चाहिन्छ। ७ को ३२ ओटा भूकम्प गइदियो भने ८ रेक्टरको भूकम्प टर्न सक्छ। ६ को मात्रै जाने हो भने हजार ओटा भूकम्प जानुपर्ने हुन्छ।’

भूकम्पलाई रोक्न नसकिने भएपनि त्यसबाट हुने क्षतिलाई कम गर्न पूर्व तयारी गर्नुपर्ने उनको सुझाव छ। ‘भूकम्प रोक्न सकिँदैन तर त्यसको क्षति न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक छ’, उनले भने, ‘त्यसका लागि संरचना बनाउँदा भूकम्प प्रतिरोधी बनाउन जरुरी छ। भूकम्पबाट हुने मानवीय क्षति पनि भौतिक क्षतिसँगै बढी हुन्छ।’

पश्चिम नेपालका कमजोर भौतिक संरचनाका कारण पनि भूकम्पबाट मानवीय क्षति पनि बढाएको उनको भनाइ छ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल विभिन्न तथ्याङ्कहरूले कर्णालीलाई भूकम्पको उच्च जोखिममा देखिएकोले यसको प्रतिकार्यका लागि सरकार गम्भीर भएको बताए।

‘भूकम्प मानवीय शक्ति रोक्न सक्ने अवस्था नभए पनि यसबाट हुने क्षति कम गर्न प्रतिकार्यको तयारीमा सरकार निरन्तर लागि परेको छ’ उनले भने, ‘यसबाट जोगिन हरेक सरोकारवालाको जिम्मेवारी उत्तिकै छ।’

विकास साझेदारहरू एक्लाएक्लै हिँड्न रमाउने गरेको टिप्पणी गर्दै सरकारसँगै हिँड्न सुझाए। उनले भौतिक संरचना निर्माण गर्दा मापदण्डको पालना गरी बनाउनु पर्नेमा जोड दिए।

भूकम्पको क्षति: सँधै चहर्याउने घाउँ

२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा जाजरकोट र रुकुम पश्चिमका १ सय ५४ जनाले ज्यान गुमाए। रुकुम पश्चिममा मात्र ५२ जनाको मृत्यु भयो। मृतकमध्ये ४२ जना आठबिसकोट नगरपालिका र १० जना सानीभेरी गाउँपालिकाका थिए। आठबिसकोटमा मृत्यु हुने ४२ मध्ये २६ जना एकै वडाका परेका थिए  । उक्त भूकम्पमा एकै परिवारका छ जनाले ज्यान गुमाए। त्यो पीडा अहिले पनि निको नहुने घाउ बनेर पीडितहरूलाई चहर्याइ रहेको छ।

उक्त भूकम्पबाट जाजरकोटमा मात्र २६ हजार पाँच सय ५७ घर पूर्ण र ३५ हजार चार सय ५५ घर आंशिक क्षति भएका छन्। जाजरकोटमा ३५ हजार पाँच सय ८३ परिवारले अस्थायी आवासका लागि ५० हजारका दरले पहिलो किस्ता पाए पनि स्थायी आवासको काम अघि बढेको छैन। जिल्ला प्रशासन कार्यालयका अनुसार जाजरकोटमा १४ हजार २४५ घर पुनर्निर्माण र १२ हजार सात सय ४४ घर प्रबलीकरण गर्नुपर्ने देखिएको छ।

हालसम्म चार हजार छ सय ९५ लाभग्राहीको फाइल प्राधिकरणमा पठाइए पनि भेरी नगरपालिकाका छ सय ४१ जनासँग मात्र सम्झौता भएको छ। सम्झौता भएकाले पनि १० महिनासम्म रकम पाएका छैनन्। उनीहरू अहिले पनि टहरामा कष्टपूर्ण जीवन बिताउन बाध्य छन्। भूकम्पको त्रासदीले अहिले पनि उनीहरूलाई चैनले सुत्न नदिएको गुनासो गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ