मालपोत र नापीका सेवा अब स्थानीय तहबाटै, मन्त्रालयले माग्यो पालिकासँग आवेदन
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
747
Shares
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनसँग सम्बन्धित सेवाहरू स्थानीय तहबाटै प्रवाह गर्ने तयारी अघि बढाएको छ। मन्त्रालयले बिहीबार एक जरुरी सूचना जारी गर्दै हाल भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयबाट प्रदान भइरहेका सेवाहरू आफ्नै तहबाट सञ्चालन गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
नेपालको संवैधानिक प्रावधान अनुसार भूमि प्रशासनलाई स्थानीय सरकारको कार्यक्षेत्रभित्र ल्याउने उद्देश्यले मन्त्रालयले यो प्रक्रिया सुरु गरेको हो। यसरी सेवा सञ्चालन गर्न चाहने स्थानीय तहले त्यसका लागि आवश्यक पर्ने जनशक्ति र भौतिक पूर्वाधारको व्यवस्थापन आफैँले गर्नुपर्ने शर्त मन्त्रालयले राखेको छ। सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र नागरिकमैत्री बनाउन यस्तो कदम चालिएको मन्त्रालयको भनाइ छ।
इच्छुक स्थानीय तहले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र मन्त्रालयले तोकेका आधिकारिक इमेल ठेगानाहरू [email protected], [email protected] वा [email protected] मा आवेदनको स्क्यान प्रति पठाउनुपर्नेछ। सिंहदरबारस्थित मन्त्रालयले सबै स्थानीय तहलाई समयमै आवश्यक प्रक्रिया पूरा गरी आफ्नो क्षेत्रका नागरिकलाई घरदैलोमै भूमि सेवा पुर्याउन यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ।