arrow

इन्डियन प्रिमियर लिग

जडेजा चम्किँदा राजस्थानको पाँचौँ जित, लखनउ ४० रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १० बिहिबार
jageda-rr.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले आफ्नो सानदार प्रदर्शन जारी राख्दै लखनउ सुपर जाएन्ट्सलाई ४० रनले पराजित गरेको छ। बुधबार इकाना स्टेडियममा भएको खेलमा राजस्थानले दिएको १६० रनको लक्ष्य पछ्याएको लखनउ १८ ओभरमा मात्र ११९ रनमा अलआउट भयो।

लखनउका लागि मिचेल मार्सले ५५ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानहरू सस्तैमा समेटिए। कप्तान ऋषभ पन्त, आयुष बडोनी र एडन मार्करम जस्ता स्टार खेलाडीहरूले खाता समेत खोल्न सकेनन्। राजस्थानका बलर जोफ्रा आर्चरले घातक बलिङ गर्दै ३ विकेट लिए।

राजस्थानको जितमा रवीन्द्र जडेजा नायक बने। उनले ब्याटिङतर्फ २९ बलमा अविजित ४३ रन जोडे भने बलिङमा निकोलस पुरनको महत्त्वपूर्ण विकेट पनि लिए। जडेजा खेलको 'प्लेयर अफ द म्याच' घोषित भए।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। १५ वर्षीय युवा खेलाडी वैभव सूर्यवंशी मात्र ८ रनमा आउट भए पनि जडेजाले पारी सम्हालेका थिए। लखनउका मोहम्मद शामी, मोहसिन खान र प्रिन्स यादवले समान २-२ विकेट लिए।

अङ्क तालिका: ७ खेलमा ५ जित निकाल्दै राजस्थान १० अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ। अर्कोतर्फ, ५ हार व्यहोरेको लखनउ नवौँ स्थानमा छ। पञ्जाब किंग्स ११ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ