सरकारको लक्षण राम्रो देखिएन, जनतामा निराशा छ : माधव नेपाल
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
1.6k
Shares
काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। सरकार गठन भएको केही समय बितिसक्दा पनि जनताका चाहना र आकाङ्क्षाहरू पूरा हुने कुनै सङ्केत नदेखिएको उनले दाबी गरे।
बुधवार नेपाली कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले सरकार यतिबेला समाजवादको नयाँ दिशामा अगाडि बढ्ने कि पुरानै असफल बाटोमा हिँड्ने भन्ने गम्भीर दोबाटोमा रहेको बताए। देशलाई विकास र परिवर्तनको मार्गमा डोर्याउन कम्युनिष्टहरूले नै नेतृत्व लिनुपर्ने भए पनि वर्तमान सरकारको कार्यशैलीले जनतामा निराशा मात्रै पैदा गरेको उनको भनाइ छ।
"मर्निङ शोज द डे भनिन्छ, तर सरकारको लक्षण राम्रो देखिएको छैन," सहसंयोजक नेपालले भने। उनले समाजमा व्याप्त असमानता, भेदभाव र अन्याय अन्त्य गर्ने सवालमा सरकार मौन रहेको आरोप लगाउँदै जनतामा कुनै उत्साह र सन्तुष्टि देखिन नसकेको उल्लेख गरे। ठूला गफ हाँकेर मात्रै नहुने भन्दै उनले जनताको मनोभावना बुझ्न नसक्ने सरकार सफल हुन नसक्ने चेतावनी दिए।
राजनीतिमा देखिएका बेथिति अन्त्य गर्न सरकारका प्रयासहरू अपर्याप्त रहेको औँल्याउँदै उनले आफ्नो पार्टीले देशलाई सही दिशामा लैजान सङ्घर्ष जारी राख्ने बताए। सरकारका गतिविधिहरूलाई नजिकबाट अनुगमन गर्दै आगामी रणनीति तय गरिने समेत उनले सङ्केत गरे।