arrow

आईपीएल

अभिषेकको विष्फोटक शतकमा हैदराबादको जित, दिल्ली ४७ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ९ बुधबार
srh-abhishek-head.jpg

काठमाडौँ । अभिषेक शर्माको सानदार शतकीय पारीको मद्दतले सनराइजर्स हैदराबाद (एसआरएच) ले जारी आईपीएल सिजनमा लगातार तेस्रो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा हैदराबादले दिल्ली क्यापिटल्स (डीसी) लाई ४७ रनले हरायो।

राजीव गान्धी उप्पल स्टेडियममा २४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन मात्र बनाउन सक्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २४२ रनको विशाल स्कोर खडा गरेको थियो।

हैदराबादका लागि अभिषेक शर्माले ६८ बलमा १० चौका र १० छक्का प्रहार गर्दै अविजित १३५ रनको शतकीय पारी खेले। यस्तै हेनरिक क्लासनले अविजित ३७ रन बनाए भने यी दुईबीच ६६ रनको साझेदारी भयो। अन्य ब्याटरमा ट्राभिस हेडले ३७ र इशान किशनले २५ रनको योगदान दिए। दिल्लीका तर्फबाट अक्षर पटेलले एक विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा दिल्लीले २१ रनमै पाथुम निसाङ्काको विकेट गुमाएको थियो। त्यसपछि केएल राहुल र नीतिश राणाले ४५ बलमा ८६ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे पनि उनीहरू आउट भएपछि दिल्लीले पुनरागमन गर्न सकेन।

हैदराबादका लागि इशान मलिंगाले घातक बलिङ गर्दै ४ विकेट लिए। उनले इम्प्याक्ट प्लेयर आशुतोष शर्मा (१४ रन), ट्रिस्टन स्टब्स (२७ रन), नीतिश राणा (५७ रन) र डेभिड मिलर (०) लाई आउट गरे। राणा र मिलरलाई लगातार दुई बलमा आउट गरेपछि मलिंगा ह्याट्रिकको नजिक पुगे पनि सफल हुन सकेनन्।

दिल्लीमाथिको यो जितसँगै हैदराबाद ८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने दिल्ली ६ खेलमा ३ जित र ३ हारका साथ पाँचौँ स्थानमा रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ