arrow

आईपीएल २०२६

लखनउलाई हराउँदै पञ्जाब शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ७ सोमबार
punjab-priyansh.jpg

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आइतबार भएको दोस्रो खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराउँदै सिजनको पाँचौँ जित दर्ता गरेको छ। त्यसअघि भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको थियो।

न्यु चण्डीगढको मुल्लापुर स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ७ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार पार्यो, जुन यस सिजनको अहिलेसम्मकै उच्च स्कोर हो। पञ्जाबका लागि 'प्लेयर अफ द म्याच' प्रियांश आर्याले ९३ रन र कुपर कोनोलीले ८७ रनको विष्फोटक इनिङ खेले। ३ रनमै प्रभसिमरन सिंहको विकेट गुमाएको पञ्जाबका लागि आर्या र कोनोलीले ८० बलमा १८२ रनको सानदार साझेदारी गरेका थिए। 

अन्त्यमा नेहल वाधेरा (१३), शशांक सिंह (१७) र मार्कस स्टोइनिस (२९) ले छोटो तर तीव्र पारी खेल्दै टोलीलाई २५४ सम्म पुर्‍याए। लखनउका लागि एम सिद्धार्थले २ विकेट लिए भने मोहम्मद शमी, मोहसिन खान र प्रिन्स यादवले समान १-१ विकेट झ्याप्नुभयो।

२५५ रनको विशाल लक्ष्य पछ्याएको लखनउले १० ओभरमा १०० रन बनाउँदा मात्र १ विकेट गुमाएको थियो। राम्रो सुरुवातका बाबजुद टोलीले त्यसपछि लगातार विकेट गुमाएपछि ५ विकेटको क्षतिमा २०० रन मात्र बनाउन सक्यो। 

लखनउका कुनै पनि ब्याटरले अर्धशतक प्रहार गर्न सकेनन्। कप्तान ऋषभ पन्तले सर्वाधिक ४३ रन बनाए भने एडेन मार्करमले ४२, मिचेल मार्सले ४० र आयुष बदोनीले ३५ रन जोडे। पञ्जाबका लागि मार्को यानसनले २ विकेट लिए भने अर्शदीप सिंह, विजयकुमार वैशाख र युजवेन्द्र चहलले १-१ विकेट लिए।

यस जितसँगै पञ्जाब किंग्स ११ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा कायम छ। अर्कोतर्फ, लगातार तेस्रो हार व्यहोरेको लखनउ सुपर जायन्ट्स ८औँ स्थानमा झरेको छ। लखनउको यो समग्रमा चौथो हार हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ