arrow

रारा तालमा ‘रारा ट्रेल रन’ प्रतियोगिता

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ५ शनिबार
raratal-always.jpg

काठमाडौँ । रारा ताल केन्द्रित ‘रारा ट्रेल रन’ प्रतियोगिता यस वर्ष वैशाख ३० गते सञ्चालन हुने भएको छ ।

नेपाली सेनाअन्तर्गतको हनुमान ध्वज गुल्मले प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतियोगिताको छैटौँ संस्करण बिहान १० बजेदेखि शुरू गरिने जनाएको छ ।

शुक्रबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा गुल्मले प्रतियोगिताको तयारीबारे सरोकारवाला निकायलाई जानकारी गराएको हो ।

पाँच वर्षअघि शुरू गरिएको यस प्रतियोगिताले कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार गर्नुका साथै स्थानीय युवालाई खेलतर्फ आकर्षित गर्ने, नयाँ प्रतिभाको पहिचान गर्ने र राराको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

प्रतियोगिता रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रारा ताल वरिपरि १६ किलोमिटर दूरीमा सञ्चालन हुनेछ । यसमा १८ देखि ४५ वर्ष उमेर समूहका ५० जना महिला र २०० जना पुरुष सहभागी हुनेछन् ।

साथै १० देखि ६० वर्ष उमेर समूहका लागि पाँच किलोमिटर दूरीको ‘रन फर फन’ प्रतियोगिता पनि आयोजना गरिनेछ ।

प्रतियोगितामा सहभागी खेलाडीहरूको एक रातको बसोबास र खानपानको व्यवस्था रारास्थित होटल व्यवसायीले गर्ने जनाइएको छ ।

नाम दर्ता वैशाख १५ देखि २९ गतेसम्म हनुमान ध्वज गुल्म, हुटुमा गरिनेछ भने सहभागीहरूको स्वास्थ्य परीक्षण वैशाख २९ र ३० गते बिहानसम्म सञ्चालन गरिनेछ ।

कार्यक्रमका अवसरमा नेपाली सेनाले फोटो प्रदर्शनी, खुकुरी नृत्य तथा स्थानीय संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गर्ने सेनानी खड्गबहादुर श्रेष्ठ ले जानकारी दिएका छन् ।

प्रतियोगिताको कुल अनुमानित खर्च सात लाख ५० हजार रुपैयाँ छ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ