लेखा समितिको सभापतिमा कांग्रेसका भरतबहादुरले गरे उम्मेदवारी दर्ता
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
822
Shares
काठमाडौँ । प्रतिनिधिसभाको शक्तिशाली सार्वजनिक लेखा समितिको सभापति पदका लागि नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन्। बिहीबार संघीय संसद् सचिवालयमा पुगेर उनले आफ्नो मनोनयन दर्ता गराएका हुन्।
नेपाली कांग्रेसले खड्कालाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेसँगै उनलाई विपक्षी दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समेत समर्थन जनाएका छन्। यसैगरी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि संसदीय परम्पराको सम्मान गर्दै लेखा समितिको सभापतिमा नेपाली कांग्रेसलाई सहयोग गर्ने निर्णय गरिसकेको छ।
उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद खड्काले सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी दललाई दिने स्थापित संसदीय परम्परा रहेको उल्लेख गरे। उनले यो विषय हारजितको नभई सहमतिको भएको बताउँदै आफू सर्वसम्मत रूपमा निर्वाचित हुनेमा आशावादी रहेको बताए।
संघीय संसद्को कार्यतालिका अनुसार बिहीबार नै संसदीय समितिहरूमा मनोनयनको प्रक्रिया अघि बढेको हो। संसद्का सबै समितिमा बहुमत रहेको सत्तारुढ दल रास्वपाले लेखा समिति प्रतिपक्षका लागि छाडेर बाँकी सबै समितिहरूमा आफ्ना सांसदहरूलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।