राष्ट्रिय चुनौती सामना गर्न एकजुट हुन गगन थापाको आह्वान
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
1.7k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकका साझा चुनौतीहरूको सामना गर्न र प्राप्त उपलब्धिहरूको रक्षाका लागि सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्।
नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै थापाले यस्तो सन्देश दिएका हुन्। उनले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि सबैको दृढ संकल्प आवश्यक रहेको उल्लेख गरे।
सभापति थापाले आफ्नो सन्देशमा भनेका छन्, “नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै भविष्यका चुनौतीहरू सामना गर्न हामी एकताबद्ध हुनुपर्छ। नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासको मार्गमा दृढतापूर्वक अघि बढ्ने यो महत्त्वपूर्ण घडी हो।”
उनले शान्त, सभ्य र समृद्ध राष्ट्र निर्माणको अभियानलाई सफल बनाउन राजनीतिक दलहरू र जिम्मेवार निकायहरूलाई दलगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे। मुलुक, मुलुकवासी र लोकतन्त्रको हितका लागि सहकार्य र एकताको विकल्प नभएकोमा उनले विशेष जोड दिएका छन्।
नयाँ वर्षले नेपालीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्दै थापाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन्।
सन्देशको अन्त्यमा उनले भनेका छन्, “यो नयाँ वर्षले हामी सबैलाई आर्थिक, सामाजिक र सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन नयाँ ऊर्जा र उत्साह प्रदान गरोस्।”