काठमाडौँ । राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक आज सोमबार बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठकहरूमा समितिको आन्तरिक कार्ययोजना र कार्यक्षेत्रका विषयमा केन्द्रित रहेर छलफल हुनेछ।
बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आगामी वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यतालिका छ। बैठकमा समितिका सदस्यहरूले विकास निर्माणका काममा सुशासन कायम गर्ने र आर्थिक मामिलालाई प्रभावकारी बनाउन आगामी वर्ष चाल्नुपर्ने कदमबारे सुझाव दिनेछन्।
त्यसैगरी, दिउँसो १ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। उक्त बैठकमा समितिको कार्यक्षेत्र र यसअन्तर्गत हुने विधायन सम्बन्धी कामहरूको प्रभावकारिताबारे छलफल गरिने जनाइएको छ।
नयाँ सरकार गठन र संसद्को नयाँ सत्र सुरु भएसँगै संसदीय समितिहरूले आफ्ना कामकारबाहीलाई तीव्रता दिन लागेका हुन्।