arrow

जनताका अधिकारमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड

सरकारलाई रचनात्मक सहयोग तर अधिकार खोसे सह्य नहुने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
prachanda-12-27.jpg

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरिए सदन र सडक दुवै ठाउँबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) द्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

संयोजक दाहालले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले रचनात्मक काम गरे आफ्नो पार्टीको सकारात्मक सहयोग रहने स्पष्ट पारे। तर, संविधानमाथि छेडखानी गर्ने, राष्ट्रिय हितमा आँच पुर्‍याउने वा जनताको हकअधिकार खोस्ने गतिविधि भएमा चुप लागेर नबस्ने उनले बताए। विशेष गरी विद्यार्थी र कर्मचारी ट्रेड युनियनको अधिकारमाथि सरकारले प्रश्न उठाउन खोजेको भन्दै उनले सबैलाई सतर्क रहन आग्रह गरे।

संविधान संशोधनको चर्चाबारे बोल्दै दाहालले आफूहरू संशोधनको विरोधी नभएको तर त्यो संशोधन महिला, दलित र उत्पीडित वर्गको अधिकार थप्न तथा सङ्घीयतालाई बलियो बनाउनका लागि हुनुपर्नेमा जोड दिए। "संशोधन अधिकार थप्नका लागि हुनुपर्छ, खोस्नका लागि होइन," उनले भने।

हालै सम्पन्न निर्वाचन परिणामलाई 'असामान्य' संज्ञा दिँदै उनले यसबारे पार्टीले गम्भीर समीक्षा गरिरहेको बताए। निर्वाचनमा हार–जित हुनु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले जुनसुकै दलले जिते पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानअन्तर्गत रहेर काम गर्दा त्यो व्यवस्थाकै जित हुने धारणा राखे।

दाहालले पार्टी एकीकरणको प्रक्रियालाई केही दिनभित्रै तल्लो तहसम्म टुङ्ग्याउने जानकारी दिए। ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै उनले जनवर्गीय सङ्गठन र विभागहरूको एकीकरणपछि देशभर वैचारिक र राजनीतिक प्रशिक्षण चलाइने बताए। उनले १२ बुँदे समझदारी र शान्ति प्रक्रियाका सहयात्री शक्तिहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने आवश्यकतामा समेत जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ