arrow

आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक सङ्घ

आइतबार ओपीडी सेवा सञ्चालन गर्ने मन्त्रालयको निर्णयप्रति चिकित्सक सङ्घको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
medical-association-red-alert.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक बिदाको दिन आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ। सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नहोस् भन्नका लागि मन्त्रालयले अस्पतालहरूलाई कार्यभार हेरेर आइतबार पनि सेवा दिन र कर्मचारीलाई सट्टा बिदा मिलाउन निर्देशन दिएको थियो। 

सो निर्देशन प्राप्त भएपछि सङ्घले एक विज्ञप्ति जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतबार बहिरङ्ग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको छ।

चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले नियमित समयबाहेक अनकल, राउन्ड र आकस्मिक सेवामार्फत २४सै घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा सो समयको गणना नहुनु अन्यायपूर्ण रहेको सङ्घले उल्लेख गरेको छ। पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने सङ्घको ठहर छ। यसैबीच विभिन्न अस्पताल तथा प्रतिष्ठानहरूले फरक–फरक सूचना जारी गरेका छन्। 

त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतले आकस्मिक बाहेक आइतबार बहिरङ्ग सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेका छन् भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र भरतपुर अस्पतालले भने आइतबार पनि सेवा सञ्चालन गर्ने जानकारी दिएका छन्।

सङ्घले विभिन्न स्वास्थ्य संस्थामा फरक–फरक दिन बिदा दिँदा अस्पतालहरूले दिने बिदामा एकरूपता नहुने र स्वास्थ्य सेवा लिने बिरामीहरू अन्योलमा पर्ने भएकाले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने जनाएको छ। ज्यादै न्यून सेवा सुविधा दिएर जबरजस्ती सेवामा खटाउने परिपाटी अन्त्य नभए चिकित्सक तथा स्वास्थ्यकर्मीहरू सङ्घर्षमा उत्रिन बाध्य हुने चेतावनी समेत सङ्घले दिएको छ। 

मन्त्रालय र चिकित्सकहरूबीचको यो विवादले आइतबार सेवा लिन आउने बिरामीहरू प्रत्यक्ष मारमा पर्ने देखिएकाले सङ्घले सरकारलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ