arrow

अर्जुननरसिंह केसी भन्छन् - मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २१ शनिबार
arjunnarasingh-kc-82-12-21.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको बताएका छन् । आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनी हुने गरेका टिप्पणीले आफूलाई फरक नपर्ने बताए । 

वि.स. २०१७ पुस १ गते राजा महेन्द्रले गरेको ‘कू’ विरुद्ध पर्चा बाँड्दै गर्दा आफूले जेल जीवन शुरू गरेको र पार्टी जीवनमा आफ्नो छुट्टै पहिचान भएको उनको दाबी छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पार्टी निर्माण र लोकतन्त्र संस्थागत गर्न आफूले गरेको योगदानबारे थाहा नभएकाहरूले सभापति थापाको ससुराको रुपमा मात्र चिन्ने गरेको भन्दै तिनीहरूलाई जवाफ दिइरहनुनपर्ने बताए । 

उनले पशुपतिको जात्रा सिद्राको व्यापार भनेजस्तै आफ्नो नाम सभापति थापासँग जोडेर हुने गरेको टिकाटिप्पणीहरु बनीबनाउ षड्यन्त्र भएको बताए । उनले नेपाली कांग्रेस भित्रैबाट आफ्नो पहिचान भएकाले गगन थापाको ससुराको रुपमा मात्र सीमित गर्ने प्रयास गरिएको भन्दै आपत्तिसमेत जनाए । 

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेतृ शैलजा आचार्य र पूर्वप्रधानमन्त्री सुशील कोएराला सहितको प्रसंग निकाल्दै केसीले पार्टीमा कयौँ नेताहरुले आफ्नै योगदानका आधारमा भूमिका पाएको भन्दै पारिवारिक सम्बन्धलाई मात्र आधार बनाएर आलोचना गर्नु उचित नहुने बताए । 

पार्टी निर्माण र व्यवस्था पुनःस्थापनाका लागि आफूले गरेको योगदानबारे सबैलाई जानकारी गराएर सञ्चारकर्मीहरुले आफूलाई न्याय गर्नुपर्ने उनको भनाइ छ । उनले आफू रुपान्तरण र पुस्तान्तरणको वकालत गर्ने भएकै कारण विशेष अधिवेशनको पक्षमा उभिएको दाबीसमेत गरे । 

सांसद केसीले कांग्रेस बदलिएको हेर्न नचाहनेहरूले आफूमार्फत सभापति थापामाथि प्रहार गर्न खोजेको भन्दै त्यसले केही फरक नपर्ने जिकिर गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ