काठमाडौँ। नेपालको परराष्ट्रमन्त्रीमा शिशिर खनाल नियुक्त भएकोमा रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले हार्दिक बधाई ज्ञापन गरेका छन्। मन्त्री खनालले कार्यभार सम्हालेलगत्तै रूसी समकक्षीले बुधबार एक विशेष शुभकामना सन्देश पठाएर बधाई दिएका हुन्।
काठमाडौँस्थित रूसी राजदूतावासका अनुसार परराष्ट्रमन्त्री लाभरोभले आफ्नो सन्देशमा नेपाल र रूसबीचको ऐतिहासिक र परम्परागत मैत्रीपूर्ण सम्बन्धको चर्चा गरेका छन्। उनले दुई देशबीचको दीर्घकालीन सम्बन्धलाई अझ सुदृढ बनाउँदै दुवै देशका जनताको साझा हितका लागि सहकार्य प्रवद्र्धन गर्न आफू इच्छुक रहेको उल्लेख गरेका छन्।
सन्देशमा रूसी परराष्ट्रमन्त्रीले नवनियुक्त मन्त्री खनालसँग निकट सम्पर्कमा रहेर रचनात्मक रूपमा काम गर्ने इच्छा व्यक्त गर्दै उनको सुस्वास्थ्य र सफल कार्यकालको कामना समेत गरेका छन्।