arrow

चार प्रदेशमा अति भारी वर्षाको 'रेड अलर्ट', सतर्कता अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
wetheter-03.jpg

काठमाडौँ । हाल देशभर मनसुनी वायुको पूर्ण प्रभाव रहँदा जनजीवन थप प्रभावित बन्ने देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास र पूर्वमा सरदर स्थान आसपास अवस्थित रहेकाले देशभर वर्षाको चक्र तीव्र बनेको छ। अहिले पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई अधिकांश भू-भागमा बादल लाग्नेछ। देशका हिमाली भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। यस्तै, पहाडी भू-भागका अधिकांश स्थान तथा तराईका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनेछ।

विशेष गरी दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र मधेस प्रदेशको तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ। यसै गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

रात्रिकालीन समयमा पनि मौसममा सुधार हुने सङ्केत छैन। राति हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपात जारी रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका अधिकांश स्थान, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका धेरै स्थान तथा तराईका अधिकांश भू-भागमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा हुने महाशाखाले जनाएको छ।

रातिको समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ भने मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ। राति पुनः कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा अति भारी वर्षा हुनसक्ने भएकाले ती क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ।

बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम उच्च रहेकाले नदी तटीय क्षेत्र, भिरालो जमिन आसपासका बासिन्दा तथा यात्रीहरूलाई उच्च सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ