arrow

आईपीएल २०२६

रिजवी चम्किएपछि दिल्लीको सानदार जित, लखनउ छ विकेटले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
rejbi-delhi-capitals.jpg

काठमाडौँ ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को पाँचौँ खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपरजायन्ट्सलाई छ विकेटले पराजित गर्दै आफ्नो जितको लयलाई कायम राखेको छ। यो जितसँगै दिल्लीले लखनउविरुद्ध लगातार पाँचौँ जितको ऐतिहासिक कीर्तिमान समेत कायम गरेको छ। 

बुधबार लखनउस्थित इकाना स्टेडियममा सम्पन्न खेलमा दिल्लीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको लखनउ १८.४ ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमा समेटिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १७.१ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य सहजै पूरा गर्‍यो।

लखनउको ब्याटिङमा एक समय १०५ रनमा ६ विकेट गुमेपछि टोली निकै संकटमा परेको थियोतर 'इम्प्याक्ट प्लेयर'का रूपमा मैदान छिरेका शाहबाज अहमदले इनिङ्स सम्हाल्दै टोलीको स्कोरलाई १४१ सम्म पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे। 

लखनउका लागि अब्दुल समदले ३६ रन र मिचेल मार्शले ३५ रनको योगदान दिएका थिए। दिल्लीका बलरहरूले कसिलो बलिङ गर्ने क्रममा थंगारसु नटराजन र लुंगी एनगिडीले ३–३ विकेट लिए भने कुलदीप यादवले २ विकेट चट्काएर लखनउको मध्यक्रमलाई ध्वस्त पारे।

लक्ष्य पछ्याउने क्रममा दिल्लीको सुरुवात पनि निकै निराशाजनक रह्यो र टोलीले पावरप्लेभित्रै महत्वपूर्ण ४ विकेट गुमाइसकेको थियो। यस्तो कठिन समयमा इम्प्याक्ट प्लेयरकै रूपमा आएका समीर रिजवीले विष्फोटक ब्याटिङ गर्दै खेलको पासा पूरै दिल्लीको पक्षमा पल्टाए। 

उनले ट्रिस्टन स्टब्ससँग मिलेर ७० रनको व्यक्तिगत योगदानसहित शतकीय साझेदारी गरेपछि दिल्लीको जित सुनिश्चित भएको हो। स्टब्सले ३९ रन जोडेर रिजवीलाई दरिलो साथ दिएका थिए। सानदार प्रदर्शनका लागि रिजवी 'प्लेयर अफ द म्याच' घोषित भए। 

लखनउका तर्फबाट बलिङमा प्रिन्स यादवले २ विकेट लिए भने मोहसिन खान र मोहम्मद शमीले समान १–१ विकेट हात पारे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ