गुजरातमाथि पञ्जाबको रोमाञ्चक जित, डेब्यु खेलमा कोनोलीको विष्फोटक इनिङ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
808
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सलाई तीन विकेटले पराजित गरेको छ। मुल्लांपुरमा मङ्गलबार भएको खेलमा टस जितेर पहिले बलिङ रोजेको पञ्जाबले गुजरातलाई १६२ रनमा रोक्न सफल भयो र १९.१ ओभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पुरा गर्यो।
पञ्जाबको जितका मुख्य नायक अस्ट्रेलियाका डेब्यु खेलाडी कूपर कोनोली बने। उनले आफ्नो पहिलो खेलमै ७२ रनको अविजित र विष्फोटक इनिङ खेल्दै टोलीलाई हारको मुखबाट जोगाए। एक समय १०९ रनमा २ विकेट मात्र गुमाएको पञ्जाबले प्रसिद्ध कृष्णाको घातक बलिङका कारण ११८ रन पुग्दा ६ विकेट गुमाइसकेको थियो। १४४ रनमा ७ औँ विकेट खसेपछि टोली संकटमा देखिए पनि कोनोलीले अन्तिमसम्म टिकेर जित सुनिश्चित गरे। उनले २० औँ ओभरको पहिलो बलमा वासिङ्टन सुन्दरलाई चौका प्रहार गर्दै ३ विकेटको रोचक जित दिलाए। कोनोलीसँगै जेभियर बार्टलेटले ५ बलमा ११ रनको महत्वपूर्ण योगदान दिए।
गुजरातका लागि कप्तान शुभमन गिलले ३९ र जोस बटलरले ३८ रन बनाए। बलिङतर्फ प्रसिद्ध कृष्णाले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। पञ्जाबका लागि विजयकुमार वैशाखले ३ र युजभेन्द्र चहलले २ विकेट लिएका थिए। यो जितसँगै पञ्जाबले सिजनको सुखद शुरूआत गरेको छ।