काठमाडौँ । रूसले गम्भीर ऊर्जा संकटबाट गुज्रिरहेको क्यारेबियन राष्ट्र क्युबालाई तेल आपूर्ति जारी राख्ने प्रतिबद्धता जनाएको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्युबाको वर्तमान कठिनाइप्रति मस्को उदासीन रहन नसक्ने बताउँदै मानवीय सहायताका रूपमा तेल पठाइएको जानकारी दिएका हुन्।
रूसी यातायात मन्त्रालयका अनुसार 'एनातोली कोलोदकिन' नामक ट्याङ्करमार्फत करिब १ लाख टन कच्चा तेल क्युबा पुर्याइएको छ। उक्त जहाज अहिले क्युबाको माटानजास बन्दरगाहमा सामान अनलोड गर्ने प्रतीक्षामा छ। पेस्कोभले क्युबालाई आवश्यक सहयोग उपलब्ध गराउनु रूसले आफ्नो कर्तव्य ठानेको र पछिल्लो ढुवानी त्यहाँ पुगेकोमा खुसी व्यक्त गरे।
यसअघि, 'द न्यूयोर्क टाइम्स'ले महिनौँको तेल नाकाबन्दीपछि संयुक्त राज्य कोस्ट गार्डले रूसी स्वामित्वको उक्त कच्चा तेलको ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको रिपोर्ट सार्वजनिक गरेको थियो। यस सहयोगले ऊर्जा अभावका कारण समस्यामा परेको क्युबालाई ठूलो राहत मिल्ने विश्वास गरिएको छ।