अमेरिकी निर्णयले रूसको युद्धकोष बलियो हुने, १० अर्ब डलर आम्दानी हुने दाबी
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ६ आइतबार
1.4k
Shares
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसी तेलमाथिको प्रतिबन्ध आंशिक रूपमा खुकुलो बनाइएकोमा कडा आपत्ति जनाउँदै यसले रूसलाई युद्धका लागि ठूलो आर्थिक स्रोत उपलब्ध गराउने चेतावनी दिएका छन्। उनले यस्तो निर्णयले युक्रेनमाथि भइरहेको आक्रमणलाई थप तीव्र बनाउने जोखिम रहेको बताए।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै जेलेन्स्कीले रूसी तेल खरिदमा खर्च हुने प्रत्येक डलर युद्धकै लागि प्रयोग भइरहेको र यसले युक्रेनमा भइरहेको विनाशकारी आक्रमणलाई प्रत्यक्ष सहयोग पुर्याइरहेको उल्लेख गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालै रूसी तेल र पेट्रोलियम पदार्थलाई समुद्रमार्फत बिक्री गर्न अनुमति दिने गरी एक महिनाका लागि अस्थायी छुट विस्तार गरेको छ। यो कदम मुख्यतः मध्यपूर्वमा जारी युद्धका कारण बढेको ऊर्जाको मूल्य नियन्त्रण गर्न चालिएको बताइए पनि जेलेन्स्कीले यसलाई रूसको युद्धकोष भर्ने माध्यमका रूपमा चित्रण गरे। अमेरिकी अर्थ मन्त्रालयले यसअघि यस्तो छुट नवीकरण नहुने सङ्केत दिए पनि पछिल्लो समय निर्णय उल्टिएको देखिएको छ।
जेलेन्स्कीका अनुसार हाल समुद्रमा ११० भन्दा बढी रूसी ट्याङ्करहरू अन्तर्राष्ट्रिय प्रतिबन्धको बेवास्ता गर्दै करिब एक करोड २० लाख टन कच्चा तेल बोकेर हिँडिरहेका छन्। प्रतिबन्ध खुकुलो पारिएकाले ती तेल सजिलै बिक्री हुन सक्ने र त्यसबाट रूसले करिब १० अर्ब डलर आम्दानी गर्ने उनको दाबी छ। उनले पछिल्लो एक सातामा मात्र रूसले २,३६० भन्दा बढी ड्रोन, १,३२० भन्दा बढी हवाई बम र ६० वटा मिसाइल युक्रेनी सहरहरूमा प्रहार गरेको जानकारी दिए। यसैबीच, उत्तरी सहर चेर्निहिभमा भएको पछिल्लो आक्रमणमा परी १६ वर्षीय एक किशोरको मृत्यु हुनुका साथै चार जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।
राष्ट्रपति जेलेन्स्कीले अन्तर्राष्ट्रिय समुदायलाई रूसी तेल ढुवानीमा कडाइ गर्न र ट्याङ्करहरूलाई बन्दरगाहसम्म पुग्न नदिन ठोस कदम चाल्न आग्रह गरे। उनले रूसी तेलको निर्यात घटाउन सके मात्र आक्रमणकारीको क्षमता कमजोर पार्न सकिने भन्दै युक्रेनले आफ्नो तर्फबाट रूसविरुद्धका दीर्घकालीन प्रतिबन्धात्मक उपायहरू जारी राख्ने स्पष्ट पारे।