रोहित र रिकल्टनको विष्फोटक ब्याटिङमा मुम्बईले खोस्यो कोलकाताको हातबाट जित
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
776
Shares
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनमा मुम्बई इण्डियन्सले विजयी शुरुआत गरेको छ। मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा सम्पन्न खेलमा आयोजक टोलीले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो।
कोलकाताले प्रस्तुत गरेको २२१ रनको विशाल लक्ष्यलाई मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्यो।
मुम्बईको यो सानदार जितमा ओपनर रायन रिकल्टन र पूर्व कप्तान रोहित शर्माको प्रदर्शन निकै महत्त्वपूर्ण रह्यो। रिकल्टनले ४३ बलमा ४ चौका र ८ छक्काको मद्दतले सर्वाधिक ८१ रनको विष्फोटक अर्धशतकीय इनिङ खेले भने रोहित शर्माले ३८ बलमा ६ चौका र ६ छक्का प्रहार गर्दै ७८ रन बनाए। यी दुई ब्याटरबीच पहिलो विकेटका लागि भएको १४८ रनको शतकीय साझेदारी नै मुम्बईको जितको मुख्य आधार बन्यो।
मध्यक्रमका ब्याटरहरू तिलक बर्मा र सूर्यकुमार यादव क्रमशः २० र १६ रनमा आउट भए पनि कप्तान हार्दिक पाण्ड्या १८ रनमा अविजित रहँदै टोलीलाई जितको रेखा पार गराए। सिजनको पहिलो खेलमै जित दर्ता गरेसँगै मुम्बई इण्डियन्स २ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। यो जितले मुम्बईका समर्थकहरूमा नयाँ उत्साह थपेको छ भने टोलीले आफ्नो बलियो ब्याटिङ लाइनअपको प्रदर्शनलाई पुनः पुष्टि गरेको छ।