प्रचण्ड बने नेकपा संसदीय दलको नेता, संसदमा 'सशक्त प्रतिपक्षी' बन्ने भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १५ आइतबार
3.4k
Shares
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' लाई प्रतिनिधि सभा संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। आइतबार कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय दलको बैठकले दाहाललाई यो जिम्मेवारी दिने निर्णय गरेको हो।
बैठकमा सहभागी सांसद बलावती शर्माका अनुसार दलको नेता चयनसँगै नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई दुई घण्टाको अभिमुखीकरण तालिम समेत प्रदान गरिएको छ। दुई जना विज्ञहरूले सांसदहरूलाई संसदीय प्रक्रिया र भूमिकाबारे प्रशिक्षित गरेका थिए। सो अवसरमा पार्टी संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता भीम रावलले नवनिर्वाचित सांसदहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए।
संसदीय दलको बैठकले संसदमा सशक्त र प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ। सरकारका कामकारबाहीको निगरानी गर्ने र जनचासोका मुद्दाहरूलाई संसदमा प्रखर रूपमा उठाउने रणनीति पार्टीले तय गरेको छ।