अमेरिकी हवाई आक्रमणमा मारिएका पन्ध्र पीएमएफ सदस्यको अन्त्येष्टि
इराकले भन्यो– 'सार्वभौमसत्ताको घोर उल्लङ्घन'
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
1.6k
Shares
काठमाडौँ । अमेरिकी हवाई आक्रमणमा ज्यान गुमाएका १५ जना 'पपुलर मोबिलाइजेसन फोर्सेस' (पीएमएफ) का सदस्यहरूको मङ्गलबार इराकको राजधानी बग्दादमा अन्त्येष्टि गरिएको छ। इराकको पश्चिमी प्रान्त अन्बारमा मङ्गलबार सबेरै भएको उक्त आक्रमणमा एक वरिष्ठ कमाण्डरसहित १५ जनाको मृत्यु भएको सुरक्षा स्रोतले बताए।
आफ्ना सदस्यहरू मारिएपछि पीएमएफले एक विज्ञप्ति जारी गर्दै उक्त हवाई आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लङ्घनको संज्ञा दिएको छ। अमेरिकाको यस कदमले अन्तर्राष्ट्रिय कानून र मानवीय मान्यताप्रति कुनै सम्मान नदेखाएको सो सङ्गठनले बताए। पीएमएफले यस घटनालाई गम्भीरतापूर्वक लिँदै इराकका राजनीतिक शक्तिहरूलाई एकजुट हुन र देशको सार्वभौमसत्ता रक्षाका लागि स्पष्ट र दृढ अडान लिन समेत आग्रह गरेको छ।
पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका बीच भएको यस आक्रमणले इराक र अमेरिकाबीचको सम्बन्धमा थप जटिलता थप्ने देखिएको छ। इराकभित्र सक्रिय रहेका सशस्त्र समूहहरूले यस्ता आक्रमणको कडा प्रतिवाद गर्ने चेतावनी दिइरहेका बेला बग्दादमा भएको यो अन्त्येष्टि समारोहमा ठूलो सङ्ख्यामा मानिसहरूको उपस्थिति रहेको स्थानीय सञ्चारमाध्यमले बताए।