हिमाली गाउँपालिकाका अधिकांश बस्ती आठ महिनापछि झिलिमिली
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ९ सोमबार
609
Shares
बाजुरा । बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाका अधिकांश अन्धकार बस्ती आठ महिनापछि झिलिमिली बनेका छन् ।
गत साउन २८ गते बिच्छ्या खोलामा आएको बाढीले कवाडी लघुजल विद्युतको नहर बगेपछि यहाँका अधिकांश गाउँ बस्ती अन्धकार थिए ।
लामो समयसम्म अन्धकार बनेका यहाँका अधिकांश बस्तीमा सात महिनापछि पुनस् विद्युत् सेवा आपूर्ति भएको हो ।
विच्छ्या खोलामा आएको बाढीले विद्युत् नहरसँगै स्थानीका घरजग्गा बगाएर करोडौँको क्षतिसमेत गरेको थियो।
हिमाली गाउँपालिका र खत्याड गाउँपालिका बिच सम्झौता भई धुलाचौरलगायतका बस्तीमा बिजुली सञ्चालनमा आएको हो ।
अविरल वर्षाका कारण कुवासी खोला जलविद्युत योजना अवरुद्ध हुँदा गाउँपालिका केन्द्र धुलाचौरसहित वडा नम्बर ४ फैती, बोर्ता, वडा नं ५ रुँगीन, नदापाटा र वडा नं ६ धीमा बस्तीमा विद्युत् सेवा प्रभावित बनेको थियो ।
सात महिनासम्म यी बस्तीका नागरिक अँध्यारोमा बस्दै आएका थिए । विद्युत् अवरुद्ध भए यता यहाँका नागरिकले सोलार, टुक्की र मैनबत्ती बाल्ने गरेका थिए ।
अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा अवरुद्ध विद्युत् सेवा शुरू गरिएको हो ।
यस्तै धुलाचौर बजारमा लामो समयदेखि विद्युतीय उपकरणहरू नचल्दा व्यापारीहरूलाई व्यवसायमा घाटा व्यहोर्नु परेको थियो । सात महिनापछि पुन: धुलाचौर बजारमा विद्युतीय सेवा आपूर्ति हुँदा व्यवसायी निकै खुसी भएको व्यवसायी गणेश शाहीले जानकारी दिए ।
हिमाली गाउँपालिका र खत्याड गाउँपालिका मुगुसँग सम्झौता गरेपछि धुलाचौर बजारलगायत अन्य गाउँ बस्तीमा पुनःबिजुली सञ्चालन आएका हो ।
सात महिनापछि बिजुली बल्दा स्थानीयहरू हर्षित भएका छन्। खत्याड गाउँपालिका मुगु विद्युत् सेवासँग हिमाली गाउँपालिकाले सम्झौता गरेर सेवा विस्तार गरेको हो ।
२०८३ असार महिनासम्मका लागि सम्झौता गरेर विद्युत् सेवा विस्तार गरिएको हिमाली गाउँपालिका प्रवक्ता भीमानन्द पाण्डेले बताए ।
आवश्यकता अनुसार सम्झौता थप गर्नेसमेत उनले जानकारी दिए। विद्युत् सेवा विस्तार भयसँगै गाउँपालिका केन्द्र धुलाचौरमा बिजुलीबाट चल्ने मेसिनका साथै दैनिक विद्युतीय कामका लागि सहयता भएको गाउँपालिकाले जनाएको छ ।
०७८ फागुनमा कवाडी लघु जलविद्युत् परियोजनाले एक सय किलोवाट बत्ती उत्पादन गरी यहाँका एक हजार एक सय घरधुरीमा विद्युत् सेवाको उपभोग गरिरहेका थिए ।
खोलामा आएको बाढीले नहर भत्किए पश्चात् यी सबै घरधुरी सेवाबाट वञ्चित भएका थिए। बाढीले खानेपानी, सडक र अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुर्याएको थियो ।
देशकै अति दुर्गम पालिकाको रूपमा रहेको हिमाली गाउँपालिका पछिल्लो समय विकासको लयमा फर्केका छ । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चार क्षेत्रमा उल्लेख्य प्रगतिसमेत गरेको हो ।
गाउँपालिकाले ‘उज्यालो हिमाली’ अभियानअन्तर्गतका दुरी संस्थाको सहयोगमा १४ करोड रुपैयाँ लागतमा बिजुली उत्पादन गरेको छ । जुन अहिले सञ्चालनमा छ ।
वर्षौँदेखि टुकी, झरोको सहायताले अँध्यारोमा रात कटाउँदै आएका यहाँका स्थानीयको बिजुली बाल्ने सपना क्रमिक रूपमा साकार हुँदै गएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले जानकारी दिए ।
विभिन्न सहयोग निकायको समन्वयमा गाउँपालिकाका दुई चार गाउँ बस्तीबाहेक अन्य सबै बस्ती बिजुलीको पहुँचमा रहेको अध्यक्ष मल्लको भनाइ छ । विगत सात महिनादेखि भने यहाँका अधिकांश बस्ती अन्धकार थिए ।