arrow

कांग्रेस बैठक सम्पन्न, सभापति थापाको राजीनामा अस्वीकृत, यस्ता छन् निर्णयहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
congress-meeting-82-12-6-88.jpeg

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न भएको छ । बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा अस्वीकृत गरेको छ । 

गत फागुन २१ मा सम्पन्न निर्वाचनमा पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिएको राजीनामा कांग्रेस अस्वीकार गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा गत शुक्रबार र आइतबार बसेको बैठकले थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो। उक्त प्रस्ताव उपसभापति विश्वप्रकाश शर्माले बैठकमा पेश गरेका थिए।

प्रवक्ता देवराज चालिसेका अनुसार सभापतिको राजीनामा अस्वीकार गर्ने निर्णय विभिन्न आधारमा गरिएको हो । पार्टीले जारी गरेको विज्ञप्तिअनुसार निर्वाचन पराजयका कारणहरू संरचनागत समस्या र नियन्त्रणबाहिरका परिस्थितिसँग जोडिएका ठहर गरिएको छ।

यस्तै, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व अझ आवश्यक रहेको निष्कर्ष निकालिएको छ। राजीनामा स्वीकृत गरिएमा पार्टीभित्र अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेको भन्दै अस्वीकार गर्नु उपयुक्त ठानिएको जनाइएको छ।

पार्टीले राजीनामालाई बाध्यकारी नभई नैतिक तथा स्वेच्छिक विषयका रूपमा लिँदै यसको सम्मान गर्दै अस्वीकार गरेको स्पष्ट पारेको छ।

साथै, सामूहिक जिम्मेवारीको सिद्धान्त, नेतृत्वको स्थायित्वको आवश्यकता र विशेष महाधिवेशनपछि शुरू गरिएको ‘कांग्रेस २.०’ सुधार कार्यक्रमलाई निरन्तरता दिनुपर्ने पक्षलाई पनि निर्णयको आधार बनाइएको छ।

बैठकले पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकतामा समेत जोड दिएको छ।

यस्ता छन् पार्टीका निर्णयहरूः

चैत्र ८, २०८२

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र ६ गतेदेखि संचालन भएको बैठक उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बिहान ८ः३० बजेदेखि प्रारम्भ भएर १२ घण्टासम्म निरन्तर संचालन भई राति ८ः४० बजे सम्पन्न भयो । बैठकको निर्णयहरू देहाय बमोजिम रहेको छ—

बैठकका निर्णयहरू

१.    नेपाली कांग्रेसका सभापति श्री गगनकुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २६(१) बमोजिम २०८२ चैत्र ३ गते दिनु भएको राजीनामाका सम्बन्धमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले दिएको परिणामको जिम्मेवारी केवल एक व्यक्तिका रुपमा पार्टी सभापति र विशेष महाधिवेशनबाट चयन भई केवल ५० दिन जिम्मेवारी सम्हालेको केन्द्रीय कार्यसमितिको मात्र नभएर समग्र पार्टीको साझा जिम्मेवारीको विषय रहेको, देशको मौजुदा परिस्थितिमा नेपाली कांग्रेसको सभापतिको रुपमा उहाँले निर्वाह गर्नु पर्ने भूमिकाको आवश्यकता टड्कारो देखिएको र विशेष महाधिवेशनले सुम्पेको दायित्व पूर्ण नभैसकेको वर्तमान अवस्थामा समयमै पार्टीको १५ औं महाधिवेशन सम्पन्न गर्नु पर्ने महत्वपूर्ण जिम्मेवारी समेतलाई मध्यनजर राखी उहाँलाई पूर्ववत जिम्मेवारीमा फर्किन आग्रह गर्दै यो बैठक सर्वसम्मतिबाट उहाँको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ । 

२.    नेपाली कांग्रेसका उपसभापति श्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गर्नु भएको प्रारम्भिक समीक्षा प्रतिवेदनलाई बैठकमा साथीहरुबाट प्राप्त सुझावहरु समेत समावेश गरी परिमार्जन सहित पारित गर्ने निर्णय यो बैठक गर्दछ । 

३.    मध्यपूर्वमा चर्किएको युद्ध विश्व शान्तिको अनिवार्य आवश्यकतालाई दृष्टिगत गर्दै चाडै नै अन्त्य हुने नेपाली कांग्रेस अपेक्षा गर्दछ । युद्धग्रस्त क्षेत्रमा लाखौं नेपालीहरुको सुरक्षाका लागि गम्भीरतापूर्वक सक्रिय हुन यो बैठक नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । 

४.    हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहमा इरानी सेनाको नियन्त्रणमा परेका नेपाली नागरिक अमृत झालाई मुक्त गरी सकुशल नेपाल ल्याउन यो बैठक नेपाल सरकारसँग माग गर्दछ । 

५.    २०८२ भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शनका घटनाहरू बारे न्यायिक जाँचवुझ गर्न गठित श्री गौरीबहादुर कार्की नेतृत्वको जाँचवुझ आयोगद्वारा बुझाएको जाँचवुझ प्रतिवेदन अविलम्व सार्वजनिक गर्न सरकारसँग यो बैठक माग गर्दछ । 

६.    पेट्रोलियम पदार्थमा गरिएको अत्यधिक मूल्य वृद्धि तथा नियमित आपूर्ति भइरहेको खाना पकाउने एलपी ग्यास वितरणमा बजारमा कृतिम अभाव सिर्जना गरिएको तर्फ नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ । पेट्रोलियम पदार्थको मूल्य घटाउन र एलपी ग्यासको सहज आपूर्तिको व्यवस्थाका लागि सरकारसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ । 

पारित शोक प्रस्ताव ः 
कार्यसमितिको २०८२ माघ ९ देखि यो बैठकका बीचको अवधिमा— नेपालको लोकतान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नु भएका पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहनु भएका महानुभावहरूको निधनप्रति कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनप्रति यो बैठक गहिरो समवेदना प्रकट गर्दछ ।

बैठकमा धारणा व्यक्तः 
आजको बैठकमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीहरू— प्रदीप पौडेल र गुरुराज घिमिरे, सह–महामन्त्रीहरू— डा. डिला संग्रौला पन्त, बहादुर सिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा, प्रकाश रसाइली स्नेही र मुक्ताकुमारी यादव, सदस्यहरू— ओमकारप्रसाद श्रेष्ठ, सुरेन्द्रप्रसाद चौधरी, अमृत अर्याल, डा. गोपाल दहित, तारामान गुरुङ, राजेन्द्रकुमार के.सी., ई. मोहन आचार्य, प्रतिमा गौतम, जानकी सिंह, नानु वास्तोला, अजयवावु शिवाकोटी, दिलकुमारी राई, शम्भुलाल श्रेष्ठ, हिमालय कर्माचार्य, नरेन्द्रकुमार केरुङ, दिपकजंग शाह, रेशमबहादुर वानियाँ, कृष्णबहादुर के.सी., उज्ज्वल बराल, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, प्रकाश पन्थ, कुसुमदेवी थापा मगर, नगेन्द्र कुमाल, मधु शाही, सीता मिजार, मनकुमारी गुरुङ, नवोदिता चौधरी, प्रवक्ता देवराज चालिसे, प्रदीपराज शर्मा, सुरेशकुमार योङ्ग्या, जगतप्रसाद जोशी, शम्भुबहादुर बुढाथोकी, तिलक रानाभाट, राजेन्द्रगोपाल सिंह, प्रेमबहादुर खड्का, डा. केदारनरसिंह के.सी., प्रमोदहरि गुरागाइँ, तीर्थजंग शाही, धर्मराज गौतम, वजरंग नेपाली, सन्तोषी साउँद ऐरी, गीता सत्याल, शारदादेवी कोइराला, रामानन्दप्रसाद यादव, उमा दाहाल, विष्णुदेवी पाण्डे, रामबहादुर कार्की, रामादेवी खड्का, चिनी पोखरेल, हिमबहादुर रावल, शिवनारायण सिंह गनगाई, छाया सुनार, गंगा सुनार, लीला नेपाली, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्यबहादुर वि.क., दिनेश सुनार, प्रमिला राई, छिन्दुल्होमु शेर्पा, अष्टकुमार कवे, छन्दबहादुर पहराई मगर, भीम श्रीस, बाला अधिकारी, मुना भुसाल, विनिता खड्का, सम्झना खत्री, विजयकुमार स्वाँर, मथुराप्रसाद घिमिरे, जगदीशचन्द्र उपाध्याय, चन्द्रकला कुमारी यादव, रामपल्टन साह, राधेश्याम पाठक, रामरुप प्रसाद कुर्मी, नरेन्द्रप्रसाद भट्ट र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । 

जय नेपाल !
    कृष्णप्रसाद दुलाल
    का.वा. मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ