एकता, विश्वास र संगठन सुदृढीकरण गरी कांग्रेसलाई बलियो बनाउनुपर्छ : पन्थ
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ८ आइतबार
3.9k
Shares
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य प्रकाश पन्थले पार्टीभित्र सुधार, एकता र नयाँ राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले राजीनामाको बहसले समाधान नदिने भन्दै नेतृत्वलाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गरे।
कांग्रेस केन्द्रीय समिति बैठकमा पन्थले लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै कांग्रेस फेरि उठ्ने र मजबुत बन्ने विश्वास व्यक्त गरे।
उनले अहिलेको राजनीतिक अवस्थालाई नैतिकता र व्यवहारबीचको संघर्षको रूपमा चित्रण गर्दै नैतिकताको नाममा पार्टी कमजोर बनाउने प्रयास स्वीकार्य नहुने बताए।
उनले पछिल्लो निर्वाचन परिणामलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टीले जनविश्वास गुमाएको स्वीकार गरे।
“हामीले केवल सीट गुमाएका होइनौँ, जनताको विश्वास पनि गुमाएका छौँ,” उनले भने।
जनताको मनोविज्ञान बुझ्न नसक्नु, गरेका काम प्रभावकारी रूपमा प्रस्तुत गर्न नसक्नु र समयअनुसार परिवर्तन हुन नसक्नु प्रमुख कमजोरी रहेको उनले बताए।
पन्थले वर्तमान राजनीतिमा नीति मात्र नभई ‘न्यारेटिभ’को प्रतिस्पर्धा हुने उल्लेख गर्दै कांग्रेस पुरानो शैलीमै सीमित हुँदा पछि परेको बताए।
उनले डिजिटल युगअनुसार जनतासँग प्रत्यक्ष संवाद, प्रभावकारी संचार र आधारभूत तहसम्म संगठन सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार अब पार्टीभित्र उत्तरदायित्व, कार्यसम्पादन र आन्तरिक लोकतन्त्रलाई मजबुत बनाउँदै जनतासँग पुनः जोडिनुपर्ने समय आएको छ।
साथै “हामी बदलिन्छौँ र देश बदल्छौँ” भन्ने विश्वासिलो सन्देशसहित नयाँ राजनीतिक धारणा निर्माण गर्नुपर्ने उनले बताए।
सभापति गगन थापाको नेतृत्वमा संविधान र लोकतन्त्र जोगिएको दाबी गर्दै उनले अहिलेको अवस्थामा राजीनामा समाधान नभई नेतृत्वलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे।
पन्थले वर्तमान अवस्थामा लोकतन्त्र, संविधान र नागरिक अधिकारहरू नै जोखिममा परेको उल्लेख गर्दै कांग्रेसको भूमिका अझ जिम्मेवार बनेको बताए।
उनले एकता, विश्वास र संगठन सुदृढीकरणमार्फत पार्टीलाई पुनः बलियो बनाउनुपर्नेमा जोड दिए।