गगन थापाको राजीनामा विषयको टुंगो शुक्रबारको केन्द्रीय समिति बैठकबाट
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
3.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिएका छन् । उनले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएको उच्च स्रोतले बताएको छ ।
स्रोतका अनुसार उनले राजीनामा बुझाएको भए पनि यसलाई उपसभापति विश्वप्रकाश शर्माले शुक्रबारदेखि शुरू हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्ने बुझिएको छ ।
पार्टी प्रवक्ता देवराज चालिसेले सभापति थापाको राजीनामा औपचारिक रूपमा आइनसकेको बताउँदै यदि उपसभापतिलाई राजीनामा आएको भए शुक्रबार बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा राजीनामा पेश हुने र त्यसले निर्णय गर्ने बताए ।
उनले राजीनामाको विषयको टुंगो शुक्रबारै लाग्ने बताए । प्रवक्ता चालिसेले कांग्रेसको विधानबारे उल्लेख गर्दै सभापतिले राजीनामा दिनुपर्ने भएमा उपसभापतिलाई बुझाउने र उपसभापतिले केन्द्रीय कार्यसमितिको पूर्ण बैठकमा पेश गर्ने व्यवस्था रहेको बताए ।
कांग्रेसले प्रतिनिधि सभा निर्वाचनको समीक्षासँगै पार्टीको आगामी नियमित महाधिवेशनका बारेमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको पनि चालिसेले जानकारी दिए ।
यता पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद दुलालले भने आफूलाई राजीनामाको विषय थाहा नभएको र कुनै पत्र पार्टी कार्यालयमा दर्ता पनि नभएको बताए ।
कसरी आयो सभापति थापाको राजीनामाको चर्चा ?
गगन थापा गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नेतृत्वमा आएका हुन् ।
उनको नेतृत्वलाई नै आधिकारिक मानेर निर्वाचन आयोगले निर्वाचनका लागि रूख चिन्ह प्रदान गरेको थियो ।
जबकि निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वले त्यसलाई अस्वीकार गर्दै निर्वाचन आयोगमा गएको थियो । आयोगले थापा पक्ष विधिवतः आएको भन्दै देउवा पक्षलाई चिनेन ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आफूहरू आधिकारिक भएको भन्दै सर्वोच्च अदालतमा गएका छन् । अहिले यो मुद्धा अदालतमै विचाराधीन छ ।
यता रूख चिन्ह लिएर थापाले समग्र कांग्रेसलाई समेट्ने उद्धेश्यअनुसार चुनावमा गए । टिकट बाँड्दासमेत देउवा पक्षका आकांक्षीलाई पनि टिकट दिए ।
तर चुनावमा सभापति थापा आफैँले हारे । उनले चुनावमा हार बेहोरेपछि नैतिकताका आधारमा राजीनामा दिन खोजे । उनले गत फागुन २५ गते नै
उपसभापति शर्मासँगको लामो छलफलपछि राजीनामा दिन खोजेको सन्देश मिडियामा आयो ।
गगन थापाले चुनाव हार्नु अनपेक्षित थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाई मत ल्याउँदा आफैँले लगातार चुनाव जितेको क्षेत्र काठमाडौँ ४ छाडेर थापा सर्लाही ४ मा पुगेका थिए ।
उनले पहाड र काठमाडौँलाई चिने पनि भावी प्रधानमन्त्रीका रूपमा पार्टीले अगाडि सार्दै गर्दा मधेस पनि बुझ्न जरुरी रहेको भन्दै सर्लाही ४ गएको प्रतिक्रिया दिइरहेका थिए ।
अहिले गगन नै परिपक्व नेता भएको विश्लेषण भइरहँदा उनले अप्रत्याशित हार बेहोर्दा धेरैलाई स्तब्ध बनायो । उनी आफैँ पनि नैतिकताको कसीमा रहन पुगे ।
त्यसैले उनले राजीनामा दिन खोजे । विशेष महाधिवेशनबाट आएको उनको नेतृत्व केवल तदर्थ हो । नियमित महाधिवेशन त गर्नैछ ।
गगनले चुनाव हारेपछि देउवा पक्षका नेता तथा कार्यकर्ताले तत्काल पदबाट राजीनामा दिनुपर्छ भनेर सामाजिक सञ्चालमा क्याम्पेन गरे भने त्यसको बचाउ गर्दै विशेष महाधिवेशन पक्षधरले गगनको नेतृत्वमा गएकैले कांग्रेस घण्टीमुनि भएको र देउवाको नेतृत्वमा गएको भए त माटो मुनि नै हुने थियो भनेर तर्क गरे ।
रास्वपाको घण्टी पहिलो दल बन्दा कांग्रेस दोस्रो दल भएको छ । जबकि जेन–जी आन्दोलनपछि खुलेको हर्कराज राई साम्पाङको श्रम संस्कृति पार्टी (चुनाव चिन्ह माटो) राष्ट्रिय दल नै बन्न सफल भयो ।
यसरी तर्क वितर्क चलिरहँदा थापाले उपसभापतिलाई राजीनामा बुझाएको चर्चा चलेको हो ।
गगनले इमानको प्रश्न आफ्नो राजनीतिक करियरमा उठाए । त्यसैले पनि हारको जिम्मा लिँदै राजीनामा दिन खोजेको बुझिन्छ ।
यद्यपि अहिलेको विशेष परिस्थितिमा भएको निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको छ । करिब २० लाखले कांग्रेसलाई मत हालेका छन् ।
जबकि कांग्रेसको एउटा तप्काले कांग्रेसलाई नै भोट नहालेको र कांग्रेसका उम्मेदवारलाई हराउन विभिन्न षड्यन्त्र गरेको समाचारसमेत मिडियामा आयो ।
२० लाखले थापालाई पत्याएर भोट हालेको भन्दै थापाले राजीनामा दिनु हुन्न र अब संगठित गरेर छुटेका कांग्रेसका नेताहरूलाई समेत समेटेर अगाडि बढ्नु पर्नेमासमेत जोड दिइरहेकोसमेत पाइएको छ ।
केन्द्रीय समिति बैठकमा अब संगठित भएरै अगाडि बढ्नु पर्ने विषयसमेत उठ्ने बताइएको छ ।
यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सांसदको सूची छनोटका लागि थापाकै अध्यक्षतामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर निर्वाचन आयोगको पत्रअनुसार क्लस्टरको टुंगो लगाएर आयोगमा बुझाइएको थियो ।
त्यसलाई आयोगले स्वीकार गरेको थियो । अर्थात् तत्कालीन सभापति शेरबहादुर देउवाले टुंगो लगाएको समानुपातिकको नामलाई अहिलेको नेतृत्वले औपचारिकता दिएर आयोगमा पठाएको थियो ।
के भन्छ देउवा पक्ष ?
देउवाको कार्यकालका पार्टी कार्यालयका मुख्यसचिव एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेल भने थापाको राजीनामाको विषयमा आफूहरूको कुनै चासो नरहेको बताए ।
उनले आफूहरू देउवा नै सभापति रहेको भनी सर्वोच्च अदालतमा गएकाले उक्त मुद्धा अदालतमा विचाराधीन रहेको उल्लेख गरे ।
उनले अब कांग्रेसलाई सशक्त बनाउने हो भने मध्यमार्गी बाटो अपनाएर सबैलाई समेटेर अगाडि बढ्नु पर्ने पनि बताए ।