arrow

कांग्रेसको समानुपातिकमा कुन क्लस्टरबाट कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
congress meeting 2.jpg

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणाली बमोजिम बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा दलले प्राप्त गरेको सिट संख्याको आधारमा २० जनाको छनोट गरेको छ । 

 प्रतिनिधि सभा सदस्य पदका लागि उक्त बन्दसूचीमा रहेको समावेशी समूह अन्तर्गत आदिवासी जनजाति समूहमा ६ जना, खस आर्य समूहमा ६ जना, थारुमा १ जना, मधेसीमा ३ जना, दलितमा ३ जना र मुस्लिममा १ जनाको नाम छनोट गरेको कांग्रेसले जनाएको छ । 

सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपीनगर ललितपुरमा बसेको बैठकले उक्त निर्णय गरेको हो । 

बैठकमा सहमहामन्त्रीहरू बहादुर सिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा र प्रकाश रसाइली स्नेही, सदस्यहरू— ओमकारप्रसाद श्रेष्ठ, अमृत अर्याल, डा. गोपाल दहित, राजेन्द्रकुमार केसी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । 

बैठकमा सबै पदाधिकारी सहभागी भएका थिए । 

प्रवक्ता चालिसेले बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाएको बताए । 

कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ । आयोगले दिएको निर्देशनअनुसार नै क्लस्टर छुट्टाएर नाम सिफारिस गरिएको चालिसेले बताए । उनले कम्तीमा १५ महिला सिफारिस गर्न भने बमोजिम सो अनुसार सिफारिस गरिएको जानकारी दिए । 

अहिले नाम भने सार्वजनिक नगरिएको पनि उनले उल्लेख गरेका छन् । कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ । जसमा एक जनामात्र महिला उम्मेदवार विजेता बनेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ