इरानलाई आत्मरक्षाको पूर्ण अधिकार छ :रूस, मध्यपूर्वमा शान्ति प्रस्ताव असफल
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
2.1k
Shares
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने पूर्ण अधिकार रहेको बताए। शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेबेन्जियाले इरान एक स्वतन्त्र राष्ट्र भएकाले आफ्ना नागरिक र पूर्वाधारमाथि हुने कुनै पनि आक्रमणलाई स्वीकार नगर्ने र त्यसको प्रतिकार गर्ने अधिकार उसँग सुरक्षित रहेको उल्लेख गरे।
मध्यपूर्वको वर्तमान स्थितिलाई ‘भयावह’ संज्ञा दिँदै नेबेन्जियाले रुसले कूटनीतिक समाधानका लागि निरन्तर आह्वान गरिरहेको बताए। बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषद्मा रुसद्वारा प्रायोजित शान्ति प्रस्ताव पारित हुन असफल भएको सन्दर्भमा उनले समाचार संस्था आरटीसँग कुरा गर्दै विपक्षमा मतदान गर्ने राष्ट्रहरूले इरानी नागरिकको अन्तर्राष्ट्रिय कानुनप्रदत्त अधिकारलाई बेवास्ता गरेको टिप्पणी गरे।
सैन्य कारबाही तत्काल रोक्न माग गरिएको उक्त मस्यौदा प्रस्तावको पक्षमा रुस, चीन, पाकिस्तान र सोमालियाले मतदान गरेका थिए। तर, अमेरिका र लाटभियाले विपक्षमा मतदान गरेपछि र अन्य नौ राष्ट्र अनुपस्थित रहेपछि प्रस्ताव अस्वीकृत भएको थियो।
इरानविरुद्ध अमेरिका र इजरायलले गरेको व्यापक हवाई आक्रमण र गोलाबारी असफल भएको दाबी नेबेन्जियाले गरे। उनले इरानी शासन पतन गराउने उद्देश्यले गरिएको उक्त आक्रमणपछि अमेरिकीहरूको अपेक्षा विपरीत इरानी जनताले वर्तमान सत्ताविरुद्ध कुनै विद्रोह नगरेको जिकिर गरे।