काठमाडौँ । बीसौँ एसियाली खेलकुदको आयोजना जापानमा हुँदै गर्दा त्यसको खुशीयालीमा शनिबार ‘एसियन गेम्स फन रन’ हुने भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा शनिबार उक्त कार्यक्रम गर्न लागि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए ।
फन रन फागुन ३० गते शनिबार बिहान ७ः३० बजे शुरू हुने भएको हो । एनओसी भवन सातदोबाटोको प्रांगणबाट शुरू हुने फन रन बी एन बी हस्पिटल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुसुसी, कनिबहा चोक, ओकुबहा, थैना, चक्रबहि, हौग हुँदै पाटन दरबार स्क्वायर कात्तिक डबली मंगलबजारमा पुगेर समापन हुने एनओसीले जनाएको छ ।
करिब तीन किलोमिटरको यस फन रन रुटमा सहभागीहरुले पाटनका सम्पदा क्षेत्रको अवलोकन गर्ने अवसर पनि मिल्ने छ ।
एसियाको सर्वाधिक ठूलो खेल मेला एसियाली खेलकुदको प्रचारप्रसार गर्ने र एसियाली खेलकुदको खेल भावना, एकता र सहभागिताका मूल्यमान्यता लाई स्थापित गर्न यस प्रतियोगतामा सहभागी हुने प्रायः राष्ट्रले फन रन गर्ने परम्परा रही आएको छ ।
सोही अनुरुप नै एनओसीले एसियाड फन रनको आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए ।
ओलम्पिकको भावनाअनुरुप हुने यस परम्परालाई कायम राख्न नेपाल ओलम्पिक कमिटीले विगतका एशियन गेम्स अगाडि फन रनको आयोजना गर्दै आएको छ ।
यो फन रन सmफलतापूर्वक आयोजना गर्नका लागि नेपाल ओलम्पिक कमिटीका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय एसियन गेम फन रन आयोजक समितिको गठन भएको छ ।
फन रनमा खेलाडी, प्रशिक्षक, ओलम्पियन, खेल संघसंस्थाका पदाधकारी, कुटनीतिक व्यक्तित्व, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थी र सञ्चारकर्मी र विधार्थी गरी करीब एक हजारभन्दा बढीको सहभागिता रहनेछ ।
सो फन रनमा ओलम्पिक काउन्सिल अफ एसियाका डिपुटी डिरेक्टर विनोदकुमार तिवारी, आइची नागोया एसियन गेम्सको आयोजक कमिटीका मिडिया विभाग र पिआर निर्देशक फुमिहितो कानाइजुका तथा सोही विभागका म्यानेजर मानामी ओकुमुराको विशेष उपस्थिति रहनेछ ।
२० औँ एसियाली खेलकुदमा सहभागिताका लागि एनओसीमार्फत् ३२ खेल दर्ता भइसकेको छ । २० औँ एसियाली खेलकुदमा कूल ४३ खेलअन्तर्गत ६८ विधाका ४६१ इभेन्ट्समा पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
जापानको आइची नागोया एसियाडमा कूल ५३ प्रतियोगिता स्थल रहेका छन् । प्रत्येक चार वर्षमा हुने एसियाड यसपालि आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म जापानमा हुँदैछ ।
आगामी एसियाडमा हालै प्याडल र टेकबल गरी दुई खेल थप गरिएको पनि एनओसीले बताएको छ ।