प्रधान नेतृत्वको ओलम्पिक कमिटी तदर्थ कमिटी नौ सदस्यीय, उपसमितिसहित आयो रोडम्याप
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
13.7k
Shares
काठमाडौँ । ध्रुवबहादुर प्रधान संयोजक रहेको नेपाल ओलम्पिक कमिटी तदर्थ कमिटी नौ सदस्यीय भएको छ । बिहीबार ओलम्पिकमा आबद्ध २३ संघ मिलेर बनाएको तदर्थ कमिटीले नौ सदस्यीय पदाधिकारी घोषणा गरेको हो ।
बिहीबार सात जना थपिएको घोषणा गर्दै नौ सदस्यीय बनाइएको हो । थपिएका सदस्यमा राजीवविक्रम शाह, सुनिल श्रेष्ठ, निलेन्द्रराज श्रेष्ठ, पुष्पदास श्रेष्ठ, बृजेन्द्र हमाल, अनिल शर्मा र रवि राजकर्णिकार रहेका छन् ।
यसअघि प्रधान र प्रवक्ताका रूपमा समीम मिया अन्सारीलाई सदस्य तोकिएको थियो ।
बिहीबार पत्रकार सम्मेलन गर्दै तदर्थ समितिको रोडम्याप पनि सार्वजनिक गरिएको छ । साथै उपसमितिहरूसमेत गठन गरिएको छ ।
तदर्थ कार्यसमितिले नेपालको ओलम्पिक गतिविधिलाई निरन्तरता दिन र आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरूको सहभागिता सुनिश्चित गर्ने आफ्नो मुख्य उद्देश्य बनाएको छ।
नेपालको खेलकुद ऐनविरुद्ध गएर यो तदर्थ समिति बनेको हो । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (जीवनराम श्रेष्ठ नेतृत्वको) हुँदाहुँदै यो तदर्थ समिति बनाइएको हो ।
तदर्थ समितिका सदस्य एवं नेपाल ओलम्पिक कमिटीका निवर्तमान महासचिव निलेन्द्रराज श्रेष्ठले ओलम्पिकमा गलत भइरहेको छ भन्ने थाहा हुँदा हुँदै चुप लागेर बन्न नसकेकै कारण तदर्थ समिति गठन गर्नुपरेको बताए । 'हामी एउटा अभियानमा लाग्यौँ यसलाई सफल पारेर नै छाड्छौँ । गलत गलतै हो', श्रेष्ठले भने ।
यद्यपि जीवनराम श्रेष्ठ नेतृत्वको एनओसीलाई आईओसीले मान्यता दिइसकेको छ ।