इरान-इजरायल तनावको असर: नेपाली नागरिकको उद्धारका लागि हवाई उडानको सम्भावना खोजिँदै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
840
Shares
काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो बैठक बुधबार परराष्ट्र मन्त्रालयमा सम्पन्न भएको छ।
फागुन २१ गते अमेरिका र इजरायलले इरानविरुद्ध गरेको संयुक्त हवाई हमलापछि पश्चिम एसियामा बढेको तनावलाई मध्यनजर गर्दै त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाका विषयमा छलफल गर्न यो बैठक बसेको हो।
बैठकमा हालसम्म भएका प्रयास र प्रगतिको समीक्षा गर्दै संकटग्रस्त क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न कूटनीतिक पहल र समन्वयलाई निरन्तरता दिने निर्णय गरिएको छ।
यसैगरी परिस्थितिको गम्भीरतालाई हेर्दै भविष्यमा आवश्यक पर्न सक्ने हवाई उडान सञ्चालनको सम्भावनाबारे अध्ययन गर्ने र आपत्कालीन नियन्त्रण कक्षमार्फत नेपाली नियोगहरूसँग सम्पर्कमा रहेका नागरिकहरूलाई तत्काल सहयोग पुर्याउने सहमति समेत भएको छ।
रोजगारीका सिलसिलामा सो क्षेत्रमा ठूलो संख्यामा नेपालीहरू कार्यरत रहेकाले सरकारले उनीहरूको हित संरक्षणलाई उच्च प्राथमिकतामा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ।