arrow

इन्धनको आयात नियमित छ, अनावश्यक भण्डारण नगर्नु: आयल निगम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १९ मंगलबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौँ  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात र आपूर्ति नियमित रहेकाले अनावश्यक रूपमा भण्डारण नगर्न आमसर्वसाधारणलाई आग्रह गरेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार एक सूचना जारी गर्दै इन्धनको आपूर्तिमा कुनै समस्या नरहेको र आसन्न निर्वाचनको समयमा पनि पर्याप्त मात्रामा आयात जारी रहने स्पष्ट पारेका छन्। अनावश्यक भण्डारणले बजारमा कृत्रिम अभाव सिर्जना गर्नुका साथै दुर्घटनाको जोखिम समेत बढाउने भएकाले घरमा इन्धन थुपारेर नराख्न निगमले अनुरोध गरेको हो।

पेट्रोलियम पदार्थको आयात पाइपलाइनमार्फत नियमित रूपमा भइरहेको जानकारी दिँदै कार्यकारी निर्देशक भट्टले निर्वाचन अवधिभर पनि आपूर्ति शृङ्खलालाई थप प्रभावकारी बनाइने बताएका छन्। उनले पेट्रोलियम पदार्थलाई अनावश्यक रूपमा जेरी क्यान वा ड्रममा भरेर राख्दा आगलागी जस्ता सम्भावित दुर्घटना हुन सक्ने तर्फ सचेत गराएका छन्। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै निगमले जेरी क्यान र ड्रममा पेट्रोलियम पदार्थ भर्न समेत निषेध गरेको जानकारी गराएको छ।

सम्भावित आगजनीजन्य दुर्घटनाको जोखिम न्यूनीकरण गर्न र बजारलाई सहज बनाउन उपभोक्ताहरूले आफ्नो आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गरेर सहयोग पुर्‍याउनुपर्ने निगमको भनाइ छ। निर्वाचनको समयमा इन्धनको माग बढ्न सक्ने भए पनि निगमसँग पर्याप्त भण्डारण र नियमित आपूर्तिको व्यवस्था रहेकाले उपभोक्ताहरूलाई नआत्तिन र पम्पहरूमा अनावश्यक भीड नगर्न समेत आग्रह गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ