काठमाडौँ । सर्लाही–४ मा प्रतिनिधि सभा निर्वाचनको मौन अवधि शुरू हुँदै गर्दा नेपाली कांग्रेसका सभापति तथा उम्मेदवार गगनकुमार थापाको पक्षमा बुद्धिजीवी तथा सार्वजनिक जीवनका चर्चित व्यक्तित्वहरू खुला रूपमा उभिन थालेका छन् । यसले उक्त क्षेत्रको चुनावी समीकरणलाई थप रोचक बनाएको छ।
राजनीतिक विश्लेषक सुरेन्द्र केसी, विश्वप्रसिद्ध आँखा चिकित्सक सन्दुक रुइत, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, पत्रकार राजेन्द्र बानियाँ तथा सञ्चारकर्मी टिकराम यात्री लगायतले थापाको पक्षमा समर्थन जनाएका छन् ।
उनीहरू मात्र होइन, विभिन्न पेशागत क्षेत्र—डाक्टर, पत्रकार, इन्जिनियर, प्राध्यापक र नागरिक समाजका प्रतिनिधिहरू—समेत गगनको उम्मेदवारीलाई समर्थन गर्दै सार्वजनिक रूपमा देखिन थालेका छन्।
समर्थकहरूले विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको पुस्तान्तरण र नेतृत्व परिवर्तनलाई “नेपाली कांग्रेस २.०” को संज्ञा दिँदै नयाँ ऊर्जा र दृष्टिकोणसहितको नेतृत्व आवश्यक रहेको तर्क अघि सारेका छन्। उनीहरूका अनुसार थापा त्यस परिवर्तनको प्रतीकका रूपमा उभिएका छन्।
सर्लाही–४ मा यसपटकको मुख्य प्रतिस्पर्धा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह र गगन थापाबीच केन्द्रित देखिएको छ। अघिल्लो निर्वाचनमा बागी उम्मेदवारका रूपमा विजयी भएका सिंह यसपटक नयाँ दलबाट चुनावी मैदानमा छन् भने थापा संघीय राजनीतिमा प्रभावशाली हस्तीका रूपमा मधेसमा उम्मेदवारी दिएर चुनावी बहसको केन्द्र बनेका छन् ।
बुद्धिजीवी तथा पेशागत क्षेत्रका व्यक्तिहरूको खुला समर्थनले गगनको पक्षमा सकारात्मक सन्देश गएको कांग्रेस निकट नेताहरूको दाबी छ।