नवलपरासी । नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
आज बर्दघाट १२ मा आयोजित चुनावी आमसभामा कांग्रेसका केन्द्रीय उपसभापति विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य एवं नवलपरासी पश्चिम १ का उम्मेदवार विनोद चौधरीले ठकुरीलाई पार्टीमा स्वागत गरेका हुन् ।
ठकुरीसँगै पश्चिम नवलपरासीका सयौँ रास्वपा कार्यकर्ता पनि कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेशपछि सम्बोधन गर्दै ठकुरीले रास्वपाले सक्षमताको आधारमा नभई विभिन्न प्रलोभनका आधारमा चुनावी टिकट बाँडेको बताए ।
“सक्षमतालाई कदर गर्न नसक्ने पार्टीमा म बस्न सक्दिनँ”, उनले भने । बदलिएको कांग्रेसको परिवेश र नेतृत्वप्रति विश्वासका कारण आफू कांग्रेसप्रति आकर्षित भएको उनको भनाइ थियो ।
“रास्वपामा न्याय मरेको छ। कांग्रेसले मलाई न्याय दिएको छ, दिनेछ,” ठकुरीले दाबी गरे। उनका अनुसार रास्वपामा पारदर्शिता, न्याय र विधिको शासनको अभाव रहेको छ। “यस्तो पार्टीले देश हाँक्न सक्दैन, सामाजिक सञ्जाल मात्र हाँक्ने हो,” उनले टिप्पणी गरे।
ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए ।
ठकुरीले नवलपरासी पश्चिम १ मा कांग्रेसले सबैभन्दा सक्षम उम्मेदवारका रूपमा विनोद चौधरीलाई अघि सारेको उल्लेख गर्दै उनको जित सुनिश्चित रहेको बताए । २०७९ सालको आम निर्वाचनमा ठकुरीले सोही क्षेत्रबाट १२ हजार मत प्राप्त गरेका थिए।