arrow

सुर्खेतमा बिहीबार कांग्रेसको आमसभा, गगन थापाले सम्बोधन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन १३ बुधबार
gagan-thapa-82-11-7hhhh.jpg

काठमाडौँ। नेपाली कांग्रेसले भोलि बिहीबार सुर्खेतमा प्रदेशस्तरीय विशाल आमसभा गर्ने भएको छ। 'प्रतिज्ञा पत्र' सार्वजनिक गरेपछि कांग्रेसले आयोजना गर्न लागेको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो।

सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कांग्रेस कर्णाली प्रदेशका महामन्त्री निरन्जन केसीका अनुसार सभाका लागि उपसभापतिद्वय शर्मा र भुसाल काठमाडौँबाट तथा सभापति थापा सर्लाहीबाट सुर्खेत पुग्नेछन्।

आमसभाका लागि कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरूलाई सुर्खेत आउन कांग्रेसले आह्वान गरेको छ। यस सभाले समग्र कर्णाली प्रदेशमा कांग्रेसको पक्षमा चुनावी माहोल सिर्जना गर्न ठूलो मद्दत पुग्ने पार्टीको विश्वास छ। सभाको प्रचार-प्रसार व्यापक पारिएको र ठूलो सङ्ख्यामा जनसहभागिता रहने महामन्त्री केसीले बताए।

सुर्खेत नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृहजिल्ला हो। यसपटक सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा खड्काका भाइ विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन्। आफ्नै भाइ चुनावी मैदानमा भए पनि पूर्णबहादुर खड्का अहिलेसम्म चुनाव प्रचारका लागि सुर्खेत आएका छैनन्।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि सो निर्णयविरुद्ध निर्वाचन आयोग र अदालत पुगेका खड्का आन्तरिक विवादका कारण चुनाव प्रचारमा नआएको चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ