सर्लाहीको बलराका पूर्व मेयर सिंह र वडाध्यक्ष झा कांग्रेसमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ९ शनिबार
2.7k
Shares
सर्लाही । सर्लाहीको बलरा नगरपालिकाका पूर्व मेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेतासमेत रहेका सिंहलाई गएराति कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।
पूर्व मेयर अभयलाई कांग्रेसमा स्वागत गर्नका लागि गएराति केन्द्रीय सभापति थापासँगै सर्लाहीका निवर्तमान सभापति सुरेन्द्रप्रसाद सिंह लगायतका नेताहरू समेतको उपस्थिति रहेको थियो ।
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्यासी थिए । उनलाई नेकपा माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका रामाशंकर कुशवाहाले पराजित गरेका थिए ।
गएराति सिंहकै घरमा कांग्रेस सभापति थापा सहितका नेताहरू पुगेर पार्टी प्रवेश गराएका हुन् । सिंहसहित बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशिल झा लगायतका नेता कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ ।
यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्र निवासी लोसपाका नेताहरु संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्र लगायत दर्जनौँ नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।