कांग्रेस सभापति थापाबाट राष्ट्रिय प्रजातन्त्र दिवसको शुभकामना
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ७ बिहिबार
2.1k
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रजातन्त्र दिवसको अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् । प्रेस विज्ञप्ति जारी गर्दै सभापति थापाले नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भनी उल्लेख गर्दै २००७ सालको ऐतिहासिक जन–क्रान्तिले १०४ वर्ष लामो निरंकुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको स्थापना गरेको यस गौरवमय दिनका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका हुन् । ।
उनले विज्ञप्तिमा २००७ साल कार्तिक २६ गतेदेखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत हरेक क्षेत्रमा यसले अग्रगामी मार्ग प्रशस्त गरेको उल्लेख गर्दै मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चालेको बताएका छन् ।
उनले प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जन–सहभागिताको बलियो आधार पनि यही दिनले निर्माण गरेको उल्लेख गरेका छन् । समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातंन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२–६३ को आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति नै भएको सभपाति थापाले बताएका छन् ।
राष्ट्रिय स्वाधिनता र नागरिक अधिकार लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनहरूमा अनेकौँ सपूतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको भन्दै थापाले अगाडि भनेका छन्, ‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रुपान्तरण गर्न सक्यौँ भनेमात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिनु हुने शहीदहरुप्रति सच्चा सम्मान प्रकट गरेको ठहर्छ भन्ने मैले विश्वास लिएको छु ।’
विज्ञप्ति मार्फत उनले भनेका छन्, ‘लोकतन्त्र स्थापना र पुनःस्थापनाको संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति यस पावन अवसरमा श्रद्धासुमन अर्पण गर्दछु । उहाँहरूको त्याग, साहस र बलिदानको उच्च सम्मान गर्दछु ।’